
१५ जेठ,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा बिहीबार आयोजित विशेष समारोहमा सरिक हुनुभयो। यस वर्षको गणतन्त्र दिवस २०८२ लाई भव्यताका साथ मनाइएको छ।
समारोहमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाद्वारा सलामी अर्पण गरियो। राष्ट्रिय गानका साथ झण्डोत्तोलन गरिएको थियो। यस अवसरमा लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजहरूको योगदानको स्मरण गर्दै सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरियो।
कार्यक्रममा उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकृतहरू, सुरक्षा निकायका प्रमुखहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू तथा समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।
समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट ’गणतन्त्र दिवस–२०८२’ अङ्कित ब्यानर प्रदर्शनीका साथै पुष्पवृष्टि गरिएको थियो, जसले कार्यक्रममा थप आकर्षण थप्यो। यसैगरी, विभिन्न साँस्कृतिक झाँकी प्रदर्शन गरियो भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका टुकुडीहरूद्वारा आकर्षक मार्चपास प्रस्तुत गरिएको थियो।