Logo

११ असार,वीरगञ्ज । जितपुर–सिमरा नगर उद्योग वाणिज्य संघ का नवनिर्वाचित अध्यक्ष गजेन्द्रकुमार गुप्ता सहित पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गरी औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

बिहीबार संघको कार्यालयमा आयोजित समारोहमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गर्दै आफ्नो कार्यकाल सुरु गरेका हुन्। कार्यक्रम संघका निवर्तमान अध्यक्ष मोहन शर्मा लामिछाने को अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघ का निवर्तमान अध्यक्ष अशोक टेमानी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

नवनिर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष शिवजीप्रसाद साह सोनार, वाणिज्य उपाध्यक्ष रामबाबु कलवार, महासचिव प्रकाश गिरी, कोषाध्यक्ष रिना रौनियार पुरी तथा वाणिज्य सचिव रिता कँडेल रहेका छन्।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघ का वरिष्ठ उपाध्यक्ष माधव राजपाल तथा वरिष्ठ उद्योगपति एवं पूर्व अध्यक्ष गणेश लाठ को विशेष उपस्थिति रहेको थियो।

त्यसैगरी वाणिज्यतर्फ निर्वाचित सदस्यहरू अमरेन्द्रकुमार साह कलवार, विभा गुप्ता, मुकुन्द रिजाल, बलराम पौडेल, विजयकुमार गुप्ता, नवरत्नप्रसाद कलवार र मनोहरबाबु गुप्ताले पनि सपथ ग्रहण गरी पदभार सम्हालेका छन्। प्रमुख निर्वाचन अधिकृत शरदचन्द्र भट्टराई ले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि टेमानीले उद्योगी तथा व्यवसायीहरूको हकहित संरक्षण र प्रवर्द्धनका लागि संघले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। उनले विशेष आर्थिक क्षेत्र (SEZ) देशकै ठूलो विशेष आर्थिक क्षेत्र रहेको उल्लेख गर्दै उद्योगी तथा व्यवसायीलाई त्यहाँ लगानी गर्न आग्रह गरे।

नवनिर्वाचित समितिले संघमा आबद्ध ९५७ जना सदस्यका लागि एक वर्ष अवधिको एक लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुविधा उपलब्ध गराउने घोषणा गरेको छ।

नवनिर्वाचित अध्यक्ष गुप्ताले निजी क्षेत्रलाई आतंकित बनाउने गतिविधिविरुद्ध सम्बन्धित निकायसँग सहकार्य गर्दै व्यवसायीहरूको सुरक्षा र हितका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पथलैया–वीरगञ्ज औद्योगिक करिडोर मा रहेका उद्योग तथा व्यवसायीहरूको सम्मान, प्रतिष्ठा र व्यावसायिक वातावरण सुदृढ बनाउन संघले प्राथमिकताका साथ काम गर्ने बताए।

कार्यक्रममा उद्योगी, व्यवसायी, संघका पूर्व पदाधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


सम्बन्धित समाचार