
१६ जेठ, वीरगञ्ज । लागुऔषध ओसारपसारमा नयाँ शैली अपनाउँदै कुकुरको घाँटीमा ‘बेल्ट’ भित्र लागुऔषध लुकाएर ल्याउने युवकलाई प्रहरीले पक्राउ गरेको छ।
भारतको जोगवनीबाट कुकुरको माध्यमबाट लागुऔषध भित्र्याउने क्रममा मोरङ उर्लाबारी नगरपालिका–४ का २४ वर्षीय प्रशान भण्डारीलाई प्रहरीले बिहीबार साँझ विराटनगरबाट पक्राउ गरेको हो ।
विराटनगर महानगरपालिका–१६ स्थित हुलासचोकबाट कुकुरसहित उनलाई इलाका प्रहरी कार्यालय रानीको टोलीले नियन्त्रणमा लिएको हो । सई सुवास अधिकारीको नेतृत्वमा सीमा क्षेत्रमा खटिएको प्रहरी टोलीले शंकास्पद गतिविधि देखेपछि भण्डारीलाई जाँच गरेको थियो ।
शरीर वा झोलामा केही नपाएपछि थप सोधपुछ गरिएको थियो। त्यसक्रममा कुकुरको घाँटीमा बाधिएको बेल्ट खोल्दा त्यसमा लुकाइएका लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
मोरङका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार कुकुरको बेल्टभित्र लुकाएर ल्याइएको ३.३६ ग्राम ब्राउन सुगर (खैरो हेरोइन) र नाइट्राजेपाम ३५ ट्याब्लेट बरामद गरिएको छ ।
“मान्छेले लागुऔषध बोकेको खण्डमा सजिलै समातिने भएकाले प्रहरीले पत्तो नपाओस् भनेर कुकुरको प्रयोग गरिएको देखिन्छ,” डीएसपी जोशीले भने ।
प्रारम्भिक अनुसन्धान अनुसार कुकुर भण्डारीकै घरमा पालिएको थियो। उनी जोगवनीसम्म पैदल गएका र फर्कँदा कुकुरको घाँटीमा लागुऔषध लुकाएर ल्याएको खुलेको छ ।
हाल भण्डारीलाई बरामद लागुऔषध र कुकुरसहित हिरासतमा राखिएको छ। उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
यस घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय रानीका प्रमुख इन्स्पेक्टर कविन राईको नेतृत्वमा भइरहेको छ ।