Logo

१६ जेठ, वीरगञ्ज । नेपाल र भारतका पोल्ट्री विज्ञहरूले कुखुरापालन व्यवसायको सुदृढ विकास, दिगोपन र आर्थिक सफलताका लागि सहकार्यमा जोड दिएका छन्। हालै भारतको पोल्ट्री रिभ्यू र नेपाल भेटेरिनरी पोल्ट्री एसोसिएसनको संयुक्त आयोजनामा सम्पन्न एक कार्यक्रममा दुवै देशका सात विज्ञले कार्यपत्र प्रस्तुत गर्दै यस क्षेत्रका अवसर र चुनौतीबारे गहिरो छलफल गरेका हुन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा. डा. सुविर सिंहका अनुसार कार्यक्रममा भारतका पाँच र नेपालका दुई पोल्ट्री विज्ञले आ-आफ्नो विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। डा. दिनेश गौतम र प्रा. डा. सिंहले ‘नेपालमा पोल्ट्री उद्योगः अनिश्चितताबीचको सम्भावना’ विषयमा नेपालको पोल्ट्री व्यवसायका अवसर र चुनौतीबारे विस्तृत विश्लेषण प्रस्तुत गरे ।

छलफलका क्रममा विभिन्न प्राविधिक तथा व्यवस्थापकीय पक्षहरूमा पनि ज्ञान आदानप्रदान भयो। प्रा. डा. एएस राणादेले वातावरणमैत्री फिड प्रविधिको विकास र त्यसको प्रभावबारे जानकारी दिए भने डा. विजयकुमार श्रेष्ठ र प्रा. डा. रेवन्तकुमार भट्टराईले पोल्ट्री क्षेत्रमा देखिने संक्रामक रोग व्यवस्थापनका उपायहरूमाथि प्रकाश पारे ।

भारतको सेपिएन्स ग्रुपका प्रशान्त कुमारले प्रविधिको प्रयोगबाट पोल्ट्री उत्पादन र व्यवस्थापनलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे आफ्नो प्रस्तुति दिए । यस्तै, डा. सन्तोष एम. आइरेले पोल्ट्री फार्ममा पानी व्यवस्थापनको महत्वमाथि जोड दिए। विहार पोल्ट्री किसान महासङ्घका डा. पवनकुमारले भारतमा चलिआएका पोल्ट्री अभ्यासहरूको अनुभव सुनाए ।

सहकार्य र नीतिगत समन्वयमा जोड

कार्यक्रममा सहभागी विज्ञहरूले नेपाल-भारत सहकार्य, नीति समन्वय, प्रविधि हस्तान्तरण र संयुक्त अनुसन्धानका सम्भावनाहरूबारे समूहगत छलफल पनि गरेका थिए। यस छलफलले दुई देशबीच पोल्ट्री क्षेत्रमा थप समन्वयको आवश्यकतालाई उजागर गरेको छ।

पोल्ट्री महासङ्घ, पोल्ट्री इन्डिया र कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रतिनिधिहरूले पनि आ-आफ्नो धारणा राखेका थिए। प्रा. डा. सिंहका अनुसार कार्यपत्र प्रस्तुति र छलफलले विज्ञहरूबीच ज्ञान र अनुभव आदानप्रदान गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। विशेषगरी, सीमा क्षेत्रमा देखिएको पोल्ट्रीजन्य सामग्रीको व्यापार समस्या समाधानका लागि यो छलफल उपयोगी बनेको बताइएको छ ।

यस किसिमको अन्तरदेशीय छलफलले नेपाल र भारत दुवैको पोल्ट्री उद्योगलाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।


सम्बन्धित समाचार