
१६ जेठ,वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ७, रेलवे रोड कुमाल टोलमा लोडरको ठक्करबाट गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृतकको सनाखत हुन नसकेकाले प्रहरीले चिन्ने व्यक्तिलाई सम्पर्कमा आउन अनुरोध गरेको छ।
प्रहरीका अनुसार, जेठ १२ गते सोमबार बेलुकी साडे ८ बजेतिर मधेश प्रदेश ०३–००२ स ४३८८ नम्बरको लोडरले पैदल हिँडिरहेका अन्दाजी २८ वर्षीय तराई मूलका पुरुषलाई ठक्कर दिएको थियो। वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भुटनदेवी टोलका २१ वर्षीय किसन बर्णवालले चलाएको उक्त लोडरको ठक्करबाट उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
घाइतेलाई तत्कालै नारायणी अस्पताल वीरगञ्ज लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि बाराको एल.एस. न्यूरो एण्ड जेनरल अस्पताल परवानीपुर रेफर गरियो। तर, चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु घोषणा गरका थिए ।
प्रहरी टोलीले घटनास्थलमा पुगेर मृतकको लासजाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान गरिसकेको छ। हाल मृतकको शव नारायणी अस्पताल वीरगञ्जको शव गृहमा राखिएको छ।
मृतकको हुलियामा ५ फिट ६ इन्च उचाइ, मझौला शरीर, आकाशे रङ्गको हाफ टी–सर्ट, निलो जिन्स प्यान्ट र तराई मूलको जस्तो देखिने पर्सा प्रहरीले पठाएको सूचनामा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले मृतकलाई चिन्ने जो–कोहीलाई तल दिएको नबरहरु ९८५५०९०१३६, ९८५५०९०३२९ र ९८५५०२८२८५सम्पर्क गर्न अनुरोध गरीएको छ ।