
१७ जेठ,ठोरी । दीप नेपाल नामक गैर–सरकारी संस्थाले ठोरीका दुई सामुदायिक विद्यालयका ४२ जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। विद्यार्थीहरूलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले आज छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी सामग्रीहरू हस्तान्तरण गरिएको हो।
दीप नेपालका अध्यक्ष विष्णु सापकोटाका अनुसार ठोरी–३ मा अवस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ओडार र ठोरी–४ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय निर्मलबस्तीका विद्यार्थीहरूलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिएको हो।
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ओडारमा आयोजित कार्यक्रम विद्यालय व्यवस्थापन समिति (विव्यस) का अध्यक्ष मणि घिमिरेको अध्यक्षता तथा वडाध्यक्ष शम्भु खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। यस विद्यालयका १० जना अति विपन्न विद्यार्थीलाई कापी, कलम, ज्यामिति बक्स र झोला लगायतका शैक्षिक सामग्री प्रदान गरियो। कार्यक्रममा दीप नेपालका अध्यक्ष सापकोटाले संस्थाको उद्देश्यबारे प्रकाश पारेका थिए भने विद्यालयका सहायक प्रधानाध्यापक चिरञ्जीवी सापकोटाले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको सहजीकरण शिक्षक नेमा तामाङले गरेका थिए।
त्यसैगरी, श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय निर्मलबस्तीमा भएको शैक्षिक सामग्री वितरण कार्यक्रम विव्यस अध्यक्ष भक्तमाया श्रेष्ठको अध्यक्षता तथा ठोरी गाउँपालिका उपाध्यक्ष गोकुली रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। यस विद्यालयमा अध्ययनरत ३२ जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। दीप नेपालका अध्यक्ष विष्णु सापकोटा र सल्लाहकार सुरेश श्रेष्ठले ठोरीलाई नै रोज्नुका कारण र संस्थाको उद्देश्यबारे जानकारी गराएका थिए। विद्यालयका प्रधानाध्यापक गोपिलाल श्रेष्ठले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सहजीकरण शिक्षक आशाकाजी गोले गरेका थिए।
दुवै विद्यालयका कार्यक्रमहरूमा स्थानीय जनप्रतिनिधिहरू, विव्यसका पदाधिकारीहरू, शिक्षक अभिभावक संघका पदाधिकारीहरू, प्रहरी प्रमुख, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
दीप नेपालले यसअघि पनि विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने अध्यक्ष सापकोटाले जानकारी दिए।