
२१ जेठ काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय भएसँगै विभिन्न जिल्लामा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले रौतहटसहितका जिल्लाहरूमा वर्षा भइरहेको र पानी पार्ने प्रणाली उत्तर-पूर्वतिर सरिरहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
महाशाखाले बुधबार बिहान ५ बजे जारी गरेको सूचनामा उल्लेख भएअनुसार, हाल जनकपुर, महोत्तरी, रौतहट, सिराहा, धनुषा, सप्तरी, सुनसरी, मोरङ, रामेछाप, सोलुखुम्बु र आसपासका क्षेत्रहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यो प्रणाली निरन्तर उत्तर(पूर्व दिशामा सरिरहेकाले थप वर्षाको सम्भावना रहेको छ।
मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम वर्षा भएमा हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म मध्यम वर्षा, ५० देखि १०० मिलिमिटरसम्म भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्म धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि वर्षा भएमा अति भारी वर्षा मानिन्छ। निरन्तरको वर्षासँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोको प्रकोप सुरु भएको जानकारी प्राप्त भएको छ।
यसैबीच, बाढी पूर्वानुमान महाशाखाले उदयपुरको चहका खोलामा पानीको सतह सतर्कता तह पार गरेकोले तटीय क्षेत्रका बासिन्दालाई होसियार रहन सुझाव दिएको छ। आज बिहान ६:३० बजे चेतावनी जारी गर्दै महाशाखाले चहका खोलाको जलस्तर बढ्दो क्रममा रहेकाले दिउँसोसम्म नदीको तटीय क्षेत्र आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
निरन्तरको वर्षाले निम्त्याउन सक्ने बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायहरूले आवश्यक तयारी गरिरहेको बताइएको छ। सर्वसाधारणलाई सुरक्षित रहन र मौसम तथा बाढीसम्बन्धी अद्यावधिक सूचनाका लागि आधिकारिक स्रोतहरूमा सम्पर्कमा रहन आह्वान गरिएको छ।