Logo

२१ जेठ, काठमाडौँ । निर्वाचन आयोगले रमेश प्रसाद यादवलाई नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० को झन्डा र लोगो अनधिकृत रूपमा प्रयोग गरेको भन्दै सचेत गराएको छ। रमेशप्रसाद यादव, महासचिव, नेपाल समाजवादी पार्टीको नाममा हस्ताक्षरित प्रेस विज्ञप्तिमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को झन्डा र लोगोको अनधिकृत प्रयोग गरी जनमानसमा भ्रम सिर्जना गरेको पाइएको आयोगले जनाएको छ।

आयोगका अनुसार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नामक राजनीतिक दल २०७८ फागुन ५ गते आयोगको निर्णयअनुसार दल दर्ता नम्बर १८२ मा दर्ता कायम भई दलको नाम, विधान, झन्डा, चिन्ह, केन्द्रीय समितिको विवरण लगायतका विषयहरू अभिलेखीकरण हुँदै आएको छ। राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम दर्ता भएको दलको नाम, झन्डा र चिन्ह अरू कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिने कानुनी व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ।

आयोगले थप प्रस्ट पार्दै भनेको छ कि रमेश प्रसाद यादव नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महासचिव लगायत केन्द्रीय समितिको कुनै पनि पदमा नरहेको आयोगको अभिलेखबाट देखिन्छ। तसर्थ, यादवले प्रेस विज्ञप्तिको लेटरहेडमा प्रयोग गरेको लोगो र चिन्ह नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० को लोगो र चिन्ह भएकोले उक्त कार्य राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ९ को विपरीत देखिएको छ।

आयोगले अब उप्रान्त यस्तो कार्य नगर्न नगराउन सचेत गराएको छ। यदि यस्तो कार्य गरे गराएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराइएको छ।


सम्बन्धित समाचार