
२२ जेठ, वीरगञ्ज । इलाका प्रहरी कार्यालय सिमरा, बाराकी प्रहरी नायव उपरीक्षक (डीएसपी) शुभद्रा वाइवालाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको छ। उनको स्थानमा अब डीएसपी वेद जोशीले सिमराको कमाण्ड सम्हाल्ने भएका छन्।
प्रहरी प्रधान कार्यालयले वाइवालाई ‘केही बुझ्नुपर्ने’ भएकाले हेडक्वाटर झिकाइएको जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले आवश्यकताअनुसार हेडक्वाटर फिर्ता बोलाइएको बताए।
डीएसपी वाइवाले सिमराको कमाण्ड सम्हालेको छ महिना पनि पूरा भएको थिएन। उनको सरुवा जितपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत (सहसचिव) शान्तिराज प्रसाईंसँगको विवादपछि भएको बुझिएको छ। केही दिनयता उनीहरूबीच विवाद चल्दै आएको थियो।
उपमहानगरपालिकाले डीएसपी वाइवामाथि तेलको कुपन च्यातेको आरोप लगाउँदै आएको छ। यता, वाइवा निकट स्रोतका अनुसार सहसचिव प्रसाईंले घटनाबारे आफूलाई ब्रिफिङ नगरेको भन्दै सरुवा गरिदिने धम्की दिँदै आएका थिए र अहिले उनको सरुवा भएको छ। तर, कानूनअनुसार प्रशासकीय अधिकृतलाई अपराध अनुसन्धान र शान्ति सुरक्षाको बारेमा रिपोर्टिङ गर्नुपर्ने प्रावधान हुँदैन।