
२२ जेठ,चितवन । चितवन राष्ट्रिय निकुञ्जले सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काएको एउटा भाले गैँडा (माइला) लाई सदर चिडियाखाना ललितपुर पठाएको छ। २३ महिनाको यो गैँडालाई बुधबार साँझ ललितपुर पठाइएको हो।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार, वन तथा वातावरण मन्त्रालयको गत वैशाख २४ गतेको निर्णयअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा टुहुरो अवस्थामा फेला परेको माइलालाई चितवन ल्याएर हुर्काइएको थियो।
मन्त्रालयको सोही निर्णयअनुसार अर्को पोथी गैँडा ‘पूजा’ लाई पनि ललितपुर पठाउने तयारी भइरहेको थापा मगरले जानकारी दिए। “करिब ३० महिनाको पोथी गैँडा (पूजा) लाई पनि लैजाने तयारी गरिएको छ,” उनले भने। बुधबार नै पठाउने तयारी गरिए पनि पूजा खोरमा जान नमानेकाले केही दिनपछि पठाइने उनले बताए।
सदर चिडियाखानामा गैँडा हेर्न आउने पर्यटकहरूलाई देखाउनका लागि यी गैँडाका बच्चा लगिएको हो। हुर्काइएका गैँडा लैजाँदा मानवीय क्षति कम हुने भएकाले यस्ता गैँडालाई प्राथमिकता दिइएको निकुञ्जले जनाएको छ।