Logo

१७ असार,सेढवा । यस वर्ष असार महिनाको तेस्रो साता बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा पर्साका किसानहरू बर्खे धान रोपाइँ गर्न नसकेर चिन्तित बनेका छन्। धानको बीउ बेर्नामा हालेको २२–२५ दिनमा रोपाइँका लागि तयार हुने भए पनि पानी नपरेका कारण एक महिनाभन्दा बढी समय बितिसक्दा पनि रोपाइँ हुन नसकेको किसानहरूको गुनासो छ। रोपाइँमा ढिलाइ हुँदा बेर्नामा रहेका धानका बीउहरू छिप्पन थालेका छन्।

सिँचाइका लागि दोहोरो मार
जिल्लाको गण्डक नहरभन्दा उत्तरी भेगमा रहेको थारुवान क्षेत्रमा भने आकाशे पानीका साथै अन्य सिँचाइका स्रोतहरू उपलब्ध भएकाले हालसम्म करिब ५० प्रतिशत खेतमा रोपाइँ भइसकेको जिराभवनी गाउँपालिका वडा नम्बर ३ नौकाटोलाका किसान काशी राय थारुले बताए। उनका अनुसार, यस क्षेत्रका किसानहरूले बाँध, कुलो र भूमिगत सिँचाइको प्रयोग गरेर रोपाइँ गर्न सकेका छन्।

तर, भूमिगत सिँचाइका लागि विद्युत सेवा भएका किसानहरूलाई कम खर्च लागे पनि दमकल प्रयोग गर्ने किसानहरूले भने ठूलो आर्थिक भार बेहोर्नु परेको छ। एक बिघा खेतमा रोपाइँका लागि तीन हजारदेखि छव हजार रुपैयाँसम्म खर्च लाग्ने गरेको र वर्षा नभएका कारण रोपाइँ गरेको ५–७ दिनमै पुनः सिँचाइ गर्नु पर्दा थप आर्थिक भार बढेको किसानहरूले बताएका छन्।

नहरको पानीमा पनि अवरोध
छिपहरमाई गाउँपालिका वडा नम्बर ४ बन्जारीका किसान नरेश साह कानूका अनुसार, यस क्षेत्रमा १५–२० प्रतिशत मात्रै रोपाइँ भएको छ। भूमिगत सिँचाइको व्यवस्था नभएको र वर्षा पनि नहुँदा समस्या आएको उनले बताए। गण्डक नहरमा सिँचाइका लागि पानी आए पनि नहर छेउछाउका किसानहरूले पानी तलतिर आउन नदिई आफूखुसी रोपाइँ गरिरहेको कानूको गुनासो छ। नहर आसपासका किसानहरूले रोपाइँ सकेपछि मात्र पानी तलतिर आउन दिने गरेको उनको भनाइ छ। रोपाइँका लागि बीउ र खेत तयार भए पनि नहर वा वर्षाको पानीको पर्खाइमा किसानहरू छन्।

गत वर्षको तुलनामा रोपाइँ निकै कम
कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकृत उमेश थापाले वर्षा नभएका कारण रोपाइँ हुन नसकेको बताए। गत वर्ष असार महिनाको तेस्रो सातासम्म ७५ प्रतिशतजति रोपाइँ भइसकेको उनले जानकारी दिए। यस वर्षको खडेरीले धान उत्पादनमा समेत ठूलो असर पर्न सक्ने चिन्ता बढेको छ। यस विषम परिस्थितिमा किसानहरूले कसरी राहत पाउँछन् र धान उत्पादनमा पर्ने असरलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ।


सम्बन्धित समाचार