
२२ असार,वीरगञ्ज । यस वर्ष चैते धानको उचित मूल्य नपाएपछि बाराका किसानहरू गम्भीर मर्कामा परेका छन्। धानको उत्पादन राम्रो भए पनि लागत मूल्य समेत उठाउन नसक्दा उनीहरू चिन्तित र निराश देखिएका छन्।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का किसान लालबाबु सहनीले करिब एक बिघा जग्गामा चैते धान लगाएका थिए, जहाँबाट एक सय मनभन्दा बढी धान फलेको छ। उत्पादन राम्रो भए पनि उचित मूल्य नपाउँदा उनी खुसी छैनन्। व्यापारीहरूले धानको भाउ निकै कम लगाएकाले बिक्री नै गर्न नसकेको उनको गुनासो छ। लगानी पनि नउठ्ने भएपछि सहनीले अहिले चैते धान लगाएकोमा पछुतो मानिरहेका छन्।
सोही वडाकी अर्की किसान विमला नेपालको व्यथा पनि उस्तै छ। उनले झन्डै डेढ बिघामा चैते धान खेती गरेकी थिइन्, तर अहिले धान बेच्न धेरै गाह्रो भएको उनले बताइन्। धानको भाउले गर्दा खेतीमा लागेको लागत मूल्य पनि नउठ्ने उनको भनाइ छ।
हाल किसानहरूले चैते धान प्रति किलो १८ रुपैयाँदेखि २२ रुपैयाँभन्दा बढी मूल्य पाउन सकेका छैनन्। धान उत्पादनमा लागत बढी हुने र किसानले उचित मूल्य नपाउँदा उनीहरू निराश छन्। गत वर्ष प्रति किलो ३० रुपैयाँभन्दा बढी मूल्य पाएर चैते धान खेती गर्न हौसिएका बाराका किसानहरू यो वर्ष मूल्य नपाएपछि पछुताइरहेका छन्। अर्को विडम्बना त यो छ कि कतिपय स्थानीय व्यापारीहरूले धान किन्न नमानेपछि किसानहरूले उधारोमा भए पनि धान बेच्न बाध्य भएका छन्।
जीतपुरसिमरा वडा नम्बर १७ का निवर्तमान वडा अध्यक्ष नवराज खड्काले सरकारले धानको समर्थन मूल्य निर्धारण गर्ने तर धान किन्नका लागि तत्परता नदेखाउँदा स्थानीय व्यापारीहरूले मनोमानी रूपमा धान किन्ने गरेको बताए। उनले किसानहरूको धान खरिद गर्न सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिए।
सरकारको उदासीनताकै कारण बाराका १६ वटै स्थानीय तहका किसानहरूले यो वर्ष चैते धान लागत मूल्यभन्दा कममा बेच्न बाध्य भएका छन्।