२५ असार, काठमाडौं । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नगरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नासाथ दुवै दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। रास्वपाकी सांसद सोविता गौतमले भिजिट भिसा प्रकरणमा आफ्नो मागअनुसार छानबिन समिति नबनाइएकाले बैठक बहिष्कार गर्ने बताइन्।
त्यसैगरी, राप्रपाकी सांसद अनिषा नेपालीले पनि सोही विषयमा आफूहरूको माग सम्बोधन नभएकाले बैठक बहिष्कार गर्ने जानकारी गराइन्। दुवै दलका सांसदहरूले सदनलाई जानकारी गराएपछि बैठक कक्षबाट बाहिरिएका थिए।















