१७ पौष, वीरगञ्ज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाइएको हो । घटेको मूल्य आजबाट लागू भएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोल पहिलो वर्गका उपभोक्ताका लागि प्रतिलिटर १ सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ५८ रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ५९ रुपैयाँ कायम गरिएको छ । यस्तै डिजेल तथा मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १ सय ३४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ३६ रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ३७ रुपैयाँ तोकिएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा राखेको छ भने सुर्खेत र दाङ दोस्रो वर्गमा परेका छन् । काठमाण्डौ, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा समावेश गरिएको निगमले जनाएको छ ।
यसैगरी हवाई इन्धनको मूल्य पनि घटाइएको छ । आन्तरिक उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाण्डौका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जानकारी दिएको छ ।
एलपी ग्यासको मूल्य भने बढेर आएको भए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै हाललाई बिक्री मूल्य यथावत् राखिएको निगमको भनाइ छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात खर्च तथा उपभोग्य वस्तुको ढुवानी लागतमा समेत केही राहत पुग्ने अपेक्षा गरिएको छ ।















