१७ पौष, वीरगञ्ज । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२६ सुरु भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता रहँदै आएको छ। पोप ग्रेगोरियनले जुलियन पात्रोको स्थानमा लागू गरेको पात्रो हाल विश्वभर प्रचलनमा रहेकाले यसलाई ग्रेगोरियन पात्रो पनि भनिन्छ।
जुलियन पात्रो शासक जुलियस सिजरले सुरु गरेका थिए। तर पात्रोको गणनासम्बन्धी विवादका कारण केही देशमा यसको प्रयोग ढिलो भएको थियो। पूर्वप्रशासक तथा ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटीका अनुसार रसियाले समेत यो पात्रो झण्डै २०० वर्षपछि मात्रै औपचारिक रूपमा स्वीकार गरेको थियो। यद्यपि उपनिवेशकालमा विभिन्न मुलुकमा यो संवत् लादिँदै गएपछि हाल इस्वी संवत् विश्वव्यापी रूपमा प्रयोगमा आएको हो।
नेपालमा इस्वी संवत् औपचारिक पात्रोका रूपमा प्रचलनमा नरहे पनि यहाँ भ्रमणमा आउने विदेशी नागरिक तथा पर्यटकले यसको प्रयोग गर्ने गर्छन्। पछिल्ला केही वर्षयता नेपालका विभिन्न सहर र पर्यटकीय गन्तव्यमा पनि इस्वी संवत् मनाउने चलन बढ्दै गएको छ।
विदेशी पर्यटकको चहलपहल रहने काठमाडौँको ठमेल, बौद्ध, स्वयम्भू र नयाँ सडक क्षेत्र बुधबार बेलुकैदेखि ‘न्यु इयर इभ’ को उत्सवले झकिझकाउ देखिएको छ। होटल, रेस्टुरेन्ट र क्लबहरूमा सांगीतिक कार्यक्रम तथा विशेष कार्यक्रम आयोजना गरिएको छ। यस्तै पोखरा, सौराहा, लुम्बिनी जस्ता पर्यटकीय क्षेत्रहरूमा पनि नयाँ वर्षको स्वागतमा रौनक देखिएको छ।
नयाँ वर्षको अवसरमा आन्तरिक पर्यटकको आवागमन पनि उल्लेख्य रूपमा बढेको छ। पर्साको ठोरी, चितवनको माडी, निजगढको नुनथर, हेटौडाको सहिद पार्कलगायत स्थानमा पिकनिक र घुमघामका लागि जानेहरूको चहलपहल बढेको छ।
इस्वी संवत् २०२६ को सुरुवातसँगै शान्ति, समृद्धि र सकारात्मक परिवर्तनको कामना गर्दै देशभर विभिन्न शैलीमा नयाँ वर्षको स्वागत गरिएको छ।














