१५ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी जिल्ला र स्थानीय तहका अधिवेशनहरूलाई व्यवस्थित तथा मर्यादित बनाउनका लागि केन्द्रीय पर्यवेक्षकहरू तोकेको छ।
पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै यो जानकारी दिएका हुन् । राप्रपाको विधान र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार तोकिएका यी पर्यवेक्षकहरूले अधिवेशनको व्यवस्थापनदेखि लिएर विभिन्न कामहरु गर्नेछन् ।
जसमा जिल्ला अधिवेशनलाई निर्धारित समयभित्रै विवादरहित ढङ्गबाट सम्पन्न गर्ने वातावरण बनाउने, अनुगमन गर्ने र सहयोग गर्ने, भ्रष्टाचार विरुद्धका कार्यक्रमहरू सञ्चालन गर्ने, आगामी आन्दोलनको तयारी गर्ने र पार्टी प्रवेश कार्यक्रमलाई अभियानको रूपमा सञ्चालन गर्न सहजीकरण गर्न तथा सम्बन्धित जिल्ला कार्यसमिति, केन्द्रीय तथा प्रदेश पदाधिकारीहरूसँग सम्पर्क र समन्वय गर्ने लगायतका काम गर्नुपर्नेछ । यी पर्यवेक्षकहरूले तत्कालै आफ्नो कार्य प्रारम्भ गरी नियमित प्रतिवेदन बुझाउनुपर्नेछ।


















