Logo

३० साउन, काठमाडौँ । मधेश प्रदेशको सलहेस युवा क्लब, सिरहा र बाग्मती प्रदेशको चर्चब्वाइज क्लब, ललितपुर ताप्लेजुङ गोल्डकपको तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेका छन । फाइनलमा उपाधिका लागि भिडे्ने यि टिम ताप्लेजुङका लागि नयाँ टिम भने होइनन । चर्चब्वाइज २०७२ सालमा यसै मैदानबाट उपाधि चुमेको टिम हो भने सलहेस गतवर्षको उपविजेता टिम हो ।

फाइनल खेल आगामी साउन ३१ गते शनिबार दिउँसो २:३० बजे, भानुजन माविको मैदानमा हुनेछ । बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा, गतवर्षको उपविजेता सलहेसले रेडस्टार क्लब, झापालाई २–० गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । खेलमा सलहेसका युसुफ मल्लिकले दुवै गोल गर्दै टोलीलाई फाइनलको यात्रा दिलाएका थिए ।

युसुफले पहिलो हाफको १३ औं र दोस्रो हाफको ४८ औं मिनेटमा गोल गरेका थिए । युसुफ एएफसी चितवनबाट खेलेका अनुभवी खेलाडी हुन । उनले प्रतियोगिताका दुबै खेलमा म्यान अफ दी म्याचको उपाधि जितेका छन । बिहीबारको खेलमा म्यान अफ दी म्याच बनेका युसुफले सात हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

चार जना विदेशी खेलाडीसहित सलहेस यसपटक प्रतियोगिता खेल्नका लागि ताप्लेजुङ प्रवेस गरेको गत वर्षको उपविजेता टिम हो । क्वाटर फाइनलमा फिदिम स्पोर्टिङ क्लब, पाँचथरलाई ६–० ले र सेमिफाइनलमा रेडस्टारलाई २–० ले पराजित गर्दै फाइनलमा पुगेको हो ।

यता, चर्चब्वाइज क्लबले बुधबार सम्पन्न सेमिफाइनलमा द योङ ब्रदर्स क्लब, इटहरीलाई टाइब्रेकरमा ३–१ गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । चर्चब्वाइजले क्वाटर फाइनलमा लिजेन्ड फुटबल एकेडेमी, सिलिगुढी भारतलाई १–० ले हराएको थियो ।

प्रतियोगितामा कुल आठ टिमको सहभागिता रहेको छ । बिजेता टोलीले ७ लाख २ हजार ८२ रुपैयाँ, उपविजेताले ३ लाख ५० हजार २ सय ८२ रुपैयाँ प्राप्त गर्नेछन साथ, सवौउत्कृष्ट खेलाडीलाई यमाहाको मोटरसाइकल प्रदान गरिने आयोजकले जानकारी दिएका छन ।

दर्शक टिकट दर पनि चरण अनुसार तोकिएको छ । क्वाटर फाइनलको लागि रु १००, सेमिफाइनलका लागि रु. २००, र फाइनलका लागि रु २५० रहेको छ । यो वर्ष टिकटका लागि आयोजकले ठेक्का प्रकृया मार्फत टिका बिक्रीको अनुमति दिएको छ । यो खेलको समयमा वर्षात हुदै आएता पनि दर्शकको उत्साह र हुकिङमा हिलाम्मे मौदानमा खेलाडीहरु उपाधिका लागि भिड्न बाध्य हुने गरेका छन ।


सम्बन्धित समाचार