९ भदौ, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको रिक्त राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा नेकपा एमालेले दाबी नगर्ने भएको छ।
एमालेको यो कदमले नेपाली कांग्रेसलाई यो पदमा आफ्नो उम्मेदवार निर्विरोध निर्वाचित गराउन सहज हुने देखिएको छ। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले यसअघि पनि नेपाली कांग्रेसकै भागमा परेको यो समितिको सभापतिमा अहिले पनि कांग्रेसकै पहिलो रोजाइ रहने बताएका छन्। यदि कांग्रेसले उम्मेदवारी नदिएमा मात्र एमालेले छलफल गर्ने र कांग्रेसको उम्मेदवारीलाई आफ्नो समर्थन रहने पनि उनले स्पष्ट पारेका छन् ।
समितिका तत्कालीन सभापति रामहरि खतिवडाले सङ्घीय निजामती विधेयकको विवादित प्रावधानका कारण नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएपछि साउन २८ गतेदेखि यो पद रिक्त छ। कानुनअनुसार १५ दिनभित्र सभापति चयन गरिसक्नुपर्ने बाध्यताले निर्वाचनको मिति नजिकिएको छ। यसका लागि आजै संसद् सचिवालयले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दैछ।















