Logo

१९ फागुन, काठमाडौँ । साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासमा दुईवटा ड्रोनबाट शक्तिशाली आक्रमण भएको छ । साउदी रक्षा मन्त्रालयले आक्रमणको पुष्टि गर्दै दूतावास भवनलाई लक्षित गरी प्रहार गरिएका ड्रोनका कारण सामान्य आगलागी र भौतिक क्षति भएको जनाएको छ।

अमेरिकी दूतावासले सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत जारी गरेको विज्ञप्ति अनुसार, आक्रमणपछि भवनमा थोरै क्षति पुगेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार विष्फोटको आवाज निकै टाढासम्म सुनिएको थियो भने आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो । यद्यपि, सुरक्षा सतर्कताका कारण भवन पहिले नै खाली गराइएकाले मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।

इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरी सर्वोच्च नेता अलि खामेनीको मृत्यु भएपछि इरानले खाडी मुलुकमा रहेका अमेरिकी सैन्य अखडा र इजरायलमाथि प्रत्याक्रमण तीव्र पारेको छ । यसै सिलसिलामा साउदीस्थित अमेरिकी मिसनले जेद्दा, रियाद र धहरानमा रहेका आफ्ना नागरिक तथा कर्मचारीहरूलाई ‘घरमै सुरक्षित रहन’ आग्रह गरेको छ।

यसअघि सोमबार कुवेतस्थित अमेरिकी दूतावास आसपास पनि शंकास्पद धुवाँ देखिएपछि त्यहाँ सतर्कता अपनाइएको थियो । इरानले बदलास्वरुप मध्यपूर्वका विभिन्न देशहरूमा निरन्तर ड्रोन र मिसाइल प्रहार गरिरहँदा सिङ्गो खाडी क्षेत्र युद्धको चपेटामा पर्ने जोखिम बढेको छ ।

मध्यपूर्वमा जारी यो द्वन्द्वको बाछिटाले त्यहाँ कार्यरत लाखौँ नेपाली श्रमिकहरूलाई प्रत्यक्ष प्रभावित पारेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को एक विमानस्थलमा भएको आक्रमणमा सुरक्षा गार्डका रूपमा कार्यरत गोरखाका दिवस श्रेष्ठको मृत्यु भएपछि नेपाली समुदायमा झनै त्रास फैलिएको छ ।

अहिले पनि साउदी, यूएई र कुवेतका विभिन्न सहरहरूमा निरन्तर खतराको साइरन बज्ने र आकाशमा ड्रोनहरू उडिरहेको देखिने गरेकाले नेपालीहरू त्रसित छन् । रोजगारीका सिलसिलामा त्यहाँ रहेका नेपालीहरूले सुरक्षित स्थानको अभाव र बढ्दो युद्धका कारण आफन्तहरूसँग चिन्ता व्यक्त गरिरहेका छन् ।


सम्बन्धित समाचार