Logo

६ साउन, हेटौँडा । बागमती प्रदेश सरकारले यातायात क्षेत्रको सेवा प्रवाहलाई पारदर्शी, छिटोछरितो र सेवाग्राहीमैत्री बनाउन प्रविधिमा आधारित विभिन्न सुधारका कार्यक्रम अघि बढाएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ‘प्रविधि र पारदर्शिता: सेवा प्रवाहको नयाँ परिभाषा’ भन्ने नाराका साथ यातायात क्षेत्रमा दूरगामी सुधारका योजना समेटिएका हुन् ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार अब यातायात व्यवस्था कार्यालयहरूमार्फत प्रवाह हुने अधिकांश सेवाहरूलाई क्रमशः अनलाइन प्रणालीमा रूपान्तरण गरी सेवाग्राहीको भौतिक उपस्थितिलाई न्यूनतममा झार्ने (फेसलेस) रणनीति अख्तियार गरिएको छ ।

यातायात सम्बद्ध सेवामा हुने सम्भावित बिचौलिया खेल र मिलोमतो अन्त्य गर्न सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा अनलाइन प्रणालीबाट सञ्चालन गर्ने र प्रयोगात्मक (ट्रायल) परीक्षालाई पूर्ण स्वचालित बनाउने तयारी सरकारले गरेको छ। यसका लागि लिखित र प्रयोगात्मक परीक्षाको व्यवस्थापनलाई एकअर्काबाट पृथकीकरण गरिनेछ ।

यस्तै, पुराना कागजी फाइल तथा ढड्डाहरूको विद्युतीय अभिलेख (डिजिटलाइजेसन) तयार गरी सवारी दर्ता र लाइसेन्स प्रणालीलाई राष्ट्रिय परिचयपत्र एवं नागरिक एपसँग अन्तरआबद्ध गरिनेछ। यसबाट नागरिकले आफ्नै मोबाइल एपमार्फत लाइसेन्स, ब्लुबुक र यान्त्रिक परीक्षणसम्बन्धी जानकारी सहजै हेर्न सक्नेछन्।

सङ्घीय सरकारसँगको समन्वयमा सवारी चालक अनुमतिपत्रको छपाइ तथा वितरण अब बागमती प्रदेशबाटै सुरु गर्ने तयारी मिलाइएको छ। सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) लाई क्युआर कोडयुक्त स्मार्ट कार्डमा रूपान्तरण गर्दै लाइसेन्स नवीकरण र सवारी कर भुक्तानी पूर्ण रूपमा विद्युतीय माध्यमबाट हुने व्यवस्था मिलाइएको छ।

“अब कर र राजस्व तिर्न वा लाइसेन्स-ब्लुबुक नवीकरणका लागि लाइन बस्न कार्यालयमै पुग्नुपर्ने बाध्यताको अन्त्य हुँदैछ,” मन्त्री तामाङले भने।

सेवाग्राहीको चाप हुने यातायात कार्यालयहरूको कार्यस्थल सुधारका लागि डिजिटल डिस्प्ले, टोकन प्रणाली, सफा खानेपानी, व्यवस्थित प्रतीक्षालय र शौचालय निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ।

यसै गरी, सार्वजनिक यातायातको नियमित यान्त्रिक परीक्षण गर्ने र पुराना सवारीसाधनलाई पत्रु (स्क्र्याप) बनाउने प्रक्रियालाई आधुनिक बनाउन निजी क्षेत्रको सहकार्यमा आधुनिक स्वचालित प्रविधियुक्त सवारी परीक्षण केन्द्र स्थापना तथा सञ्चालन गरिने बजेटमा उल्लेख छ।


सम्बन्धित समाचार
भर्खरै