Logo

६ साउन, काठमाडौँ । अध्यागमन विभागको नियन्त्रणमा रहेका चिनियाँ नागरिकहरूलाई कानुनी प्रक्रिया छलेर छुटाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ असुलेको आरोपमा कलाकार र सशस्त्र प्रहरीका पूर्ववरिष्ठ उपरीक्षक (एसएसपी) पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार कलाकार नारद खतिवडा, सशस्त्र प्रहरीका पूर्वएसएसपी गोपाल गुरुङ र उदयपुरका विक्रमबहादुर थापालाई काठमाडौँबाट नियन्त्रणमा लिएको हो।

अध्यागमन विभागले करिब दुई साताअघि पर्यटक भिसामा नेपाल आएर शङ्कास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ९ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो । हिरासतमा रहेका ती चिनियाँ नागरिकहरूलाई प्रशासनिक एवं कानुनी ‘सेटिङ’ मिलाएर सजिलै रिहा गराइदिने भन्दै पक्राउ परेको गिरोहले कुल ७२ लाख रुपैयाँको ‘डिल’ गरेको अनुसन्धानबाट खुलेको छ ।

उक्त डिलअनुसार गिरोहले पेस्की स्वरूप ९ लाख रुपैयाँ असुलिसकेको अवस्थामा प्रहरीले सुराक पाएपछि उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार पूर्वप्रहरी अधिकारी र चर्चित कलाकारकै संलग्नतामा गिरोह बनाएर अध्यागमनजस्तो संवेदनशील निकायको नाममा असुली धन्दा चलाइएको फेला परेको हो ।

पक्राउ परेका तीनै जनामाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको छ। घटनामा अन्य प्रशासनिक अधिकारी वा बिचौलियाहरूको समेत संलग्नता रहे-नभएको विषयमा सूक्ष्म अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै