Logo

६ साउन, भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१५ मनकामना चोकमा बलेरो जिपको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । दुर्घटनापछि फरार भएका बलेरो चालकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार साउन ५ गते राति करिब ९ बजे ना४च १०३८ नम्बरको बलेरोले बा.प्र.०३–००४ प ६२३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक तनहुँ घर भई हाल भरतपुर महानगरपालिका–५ मा डेरा गरी बस्ने ३२ वर्षीय सुजन गुरुङ गम्भीर घाइते भएका हुन् ।

दुर्घटनालगत्तै गुरुङको टाउको र अनुहारमा गम्भीर चोट लागेको अवस्थामा उद्धार गरी उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अवस्थामा घाइतेको परिचय खुल्न नसके पनि थप अनुसन्धानका क्रममा उनी सुजन गुरुङ रहेको पुष्टि भएको हो ।

दुर्घटनापछि बलेरो चालक घटनास्थलबाट फरार भएका थिए। प्रहरीले अनुसन्धानका क्रममा ठक्कर दिने सवारी ना४च १०३८ नम्बरको बलेरो रहेको पहिचान गर्दै चालक भरतपुर महानगरपालिका–१६ बिजयनगर निवासी ३१ वर्षीय जीवन्त सुबेदीलाई साउन ६ गते नियन्त्रणमा लिइ दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएकोछ ।

यसैबीच, वर्षायाम सुरु भएसँगै चितवनमा दैनिकजसो सवारी दुर्घटनाका घटना बढ्न थालेका छन्। चिप्लो सडक, कम दृश्यता, तीव्र गति र लापरवाहीका कारण दुर्घटना हुने क्रम बढेको भन्दै जिल्ला प्रहरीले सबै चालकलाई गति नियन्त्रणमा राख्न, ट्राफिक नियमको पूर्ण पालना गर्न तथा अत्यन्त सतर्क भएर सवारी चलाउन आग्रह गरेको छ। प्रहरीले सानो लापरवाहीले पनि ठूलो मानवीय क्षति निम्त्याउन सक्ने भएकाले वर्षायाममा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ।


सम्बन्धित समाचार
भर्खरै