६ साउन, ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार र प्रतिपक्षी दल दुवैको कार्यशैलीमा समानता रहेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् । जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा ललितपुरमा आयोजित जलवायु जनचेतना दौड कार्यक्रममा सहभागी भएपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
जलवायु परिवर्तनबारे सचेतना जगाउने उद्देश्यले आयोजित पाँच किलोमिटरको दौड बिनाकुनै विश्राम पूरा गरेपछि सभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिको प्रसङ्ग जोड्दै कटाक्ष गरेका थिए ।
चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका क्रममा प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले वर्तमान सरकारको गाडीमा ‘ब्रेक’ नरहेको र यो गन्तव्यमा पुगेपछि मात्र रोकिने अभिव्यक्ति दिएका थिए ।
सभापति थापाले सोही भनाइलाई लक्षित गर्दै प्रतिपक्षको आक्रामक सक्रियतालाई पनि ‘ब्रेक’ बिनाको दौडसँग तुलना गरे। उनले उक्त टिप्पणीलाई सहज रूपमा लिँदै ‘यसपालि यस्तै हो’ भनी जवाफ दिएकोसमेत कार्यक्रममा सुनाएका थिए ।
सभापति थापाले जलवायु परिवर्तनको विषयलाई अब मुलुकको विकासको मुख्य एजेण्डा बनाउनुपर्नेमा जोड दिए। बीपी कोइरालाको योगदानको स्मरण गर्दै उनले तत्कालीन समयमा ‘समावेशी’ शब्दको औपचारिक प्रयोग नभए पनि बीपीले व्यवहारतः त्यसको सफल अभ्यास गरेको बताए ।
सामाजिक न्याय, मानव कल्याण र नैतिक जिम्मेवारी बिनाको विकास अर्थहीन हुने बताउँदै थापाले बीपीले दशकौँअघि नै वनको राष्ट्रियकरण र प्राकृतिक स्रोतमाथि न्यायपूर्ण पहुँचको विषय उठाएको स्मरण गरे।
पार्टीको आगामी कार्यदिशाबारे प्रष्ट पार्दै सभापति थापाले आजको नेपाली कांग्रेस उज्ज्वल भविष्यप्रति पूर्ण आशावादी रहेको तर सही मार्ग कोर्न इतिहासबाट सिक्न उत्तिकै जरुरी रहेको धारणा राखे ।
अग्रजहरूले देखाएको निष्ठाको बाटो र विचारलाई आधार मानेर जलवायु परिवर्तनको मुद्दालाई विकासको मूल प्रवाहमा जोड्न कांग्रेस प्रतिबद्ध रहेको उनको भनाइ थियो। उनले विज्ञ तथा शुभेच्छुकहरूबाट प्राप्त सुझाव र ज्ञानलाई पार्टीले नीतिगत तहमा उपयोग गर्दै लैजाने प्रतिबद्धतासमेत व्यक्त गरे ।




















