९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै पार्टीभित्र नेतृत्वको आलोचना गर्ने र अनुशासन तोड्नेहरूलाई कडा चेतावनी दिएका छन्।
पार्टी स्थापनाको चौथो वार्षिकोत्सवका अवसरमा बोल्दै उनले पार्टीलाई कमजोर बनाउने र नेतृत्वको आलोचना गर्नेहरूलाई कुनै हालतमा छुट नदिने बताए । ‘जसले अनुशासनहीन काम गर्छ, त्यसलाई छुट दिन सकिँदैन,’ नेपालले भने, ‘पार्टी सिध्याउन खोज्ने प्रवृत्तिलाई कुनै हालतमा छाडिन्न।’ उनले खासगरी ‘विचारको समस्या छैन’ भन्दै पार्टीभित्रको आन्तरिक असन्तुष्टिलाई हिनाताबोध र नकारात्मक प्रवृत्ति भन्दै खारेज गरिदिए ।
अध्यक्ष नेपालले आफ्ना नेता तथा कार्यकर्तालाई सकारात्मक र दृढ भएर पार्टीको पक्षमा बोल्न निर्देशन दिए। उनले पार्टी कमजोर हुँदा कसैले पनि टेरपुच्छर नलाउने भन्दै पार्टीलाई सशक्त बनाउनुपर्नेमा जोड दिए ।















