९ भदौ, काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपालले इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान गरेको छ। सरकारद्वारा पूर्वाधार र समुचित संवादबिना इम्बोस्ड नम्बर प्लेट अनिवार्य गराउन खोजिएको भन्दै महासंघले आन्दोलनको चेतावनी समेत दिएको हो।
महासंघले एक विज्ञप्ति जारी गर्दै विदेशी प्रविधिका नाममा नेपाली नागरिक र व्यवसायीमाथि अनावश्यक आर्थिक बोझ थोपर्ने र नागरिकको व्यक्तिगत विवरण विदेशी कम्पनीको नियन्त्रणमा पुग्ने खतरा रहेको दाबी गरेको छ।
“सरकार र सरोकारवाला पक्षबीच संवादविना जबरजस्ती गरिने निर्णय राष्ट्रको सुरक्षामै खतराको विषय बन्न सक्छ,” महासंघले चेतावनी दियो।
महासंघले सार्वजनिक, निजी, पर्यटन तथा ढुवानी सेवामा संलग्न सबै सवारीधनीहरूलाई इम्बोस्ड नम्बर प्लेट नजडान गर्न अनुरोध गरेको छ।“देखिएका अव्यावहारिक विषयको सुधार बिना यो निर्णय अस्वीकार्य छ,” विज्ञप्तिमा भनिएको छ।
आन्दोलनको चेतावनी
सरकारले जबरजस्ती इम्बोस्ड नम्बर प्लेट जडान गराउन खोजेमा परिस्थिति चर्किने र त्यसबाट उत्पन्न हुने परिणामका लागि यातायात मन्त्रालय मातहत निकायहरू स्वयं जिम्मेवार हुने भन्दै महासंघले कडा चेतावनी दिएको छ।
यातायात व्यवस्था विभागले भदौ ३ गते सूचना जारी गर्दै असोज १ गतेदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य बनाउने निर्णय लिएको थियो। तर, सवारीधनी, सांसदहरूदेखि यातायात व्यवसायी संघसम्मले यो निर्णय पूर्वतयारीबिना गरिएको, अपारदर्शी, र महँगो भन्दै विरोध जनाएका छन्।















