१० भदौ,वीरगञ्ज । समाजवादी प्रेस संगठन नेपाल पर्साले आफ्नो चौथो स्थापना दिवसको अवसरमा मंगलबार वीरगञ्जमा प्रभातफेरी तथा कोणसभा आयोजना गरेको छ।
प्रभातफेरी वीरगन्जको घण्टाघर चोकबाट सुरु भई माईस्थान, महावीरस्थान, आदर्शनगर, घडिअर्वा हुँदै नगर परिक्रमा गर्दै पुनः घण्टाघरमै कोणसभामा परिणत भएको थियो।
कोणसभामा संगठनका पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापा रहेका थिए। थापाले आफ्नो पार्टी सधैं पत्रकार र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै मिडिया विरोधी विधेयक र कानुनी प्रावधानहरु तत्काल सच्याउनुपर्नेमा जोड दिए।
नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारीले पत्रकारिता क्षेत्रमा बढ्दो असुरक्षा र राज्यबाट प्रेस स्वतन्त्रतामाथि भइरहेका प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले राज्यले ल्याउन लागेको प्रेसविरोधी विधेयक अस्वीकार्य हुने स्पष्ट पारे।
अन्य वक्ताहरुले मिडियाको दर्ता र नविकरण प्रशासनको मातहतमा राख्ने प्रस्तावप्रति आपत्ति जनाउँदै सूचना विभाग र प्रशासनको निष्क्रियताका कारण पत्रकारहरु समस्यामा परेको तर्क प्रस्तुत गरे।
कोणसभामा नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सचिव बृजलाल पासवान, मधेस प्रदेश अध्यक्ष मनोज पटेल, नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष सञ्जिव मिश्र, रेडियो वीरगन्ज, मधेस दृष्टि र टिभी वीरगन्जका कार्यकारी अध्यक्ष ध्रुव साह, प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादव, र श्रमजीवी पत्रकार संघ पर्साका अध्यक्ष आरके पटेल लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षाको सुनिश्चितता, र मिडिया मैत्री राज्य निर्माणका लागि एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिइएको थियो।















