Logo

१० भदौ,काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारीका लागि भदौ १३ गते बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकको तयारी नपुगेकाले स्थगित गरिएको जानकारी दिएका छन्। उनले अर्को बैठकको मिति चाँडै तोकिने बताए।

बैठकमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तावको प्रतिवेदन पेस गर्ने तय भएको थियो। पार्टीले मातहतका कमिटीहरूलाई विधान संशोधनसम्बन्धी सुझाव पठाउन भदौ १० गतेसम्मको समयसीमा दिएको छ। प्राप्त सुझावहरूलाई समेटेर प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गरिने छ।

एमालेको नवौं केन्द्रीय कमिटी बैठक गत साउन ५ र ६ गते सम्पन्न भएको थियो। दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौ २० देखि २२ गतेसम्म आयोजना हुँदैछ। महाधिवेशनमा २ हजार १२८ प्रतिनिधि र २६४ आयोजक गरी कुल २ हजार ३९२ जनाको सहभागिता रहनेछ।

तर अहिले पार्टीमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णयले विवादको आगो बलिरहेको छ। भण्डारीले भने पनि आफू एमालेकै कार्यकर्ता भएको दाबी गर्दै थापागाउँमा सम्पर्क कार्यालय खोलेर राजनीतिक गतिविधि जारी राखेकी छन्।

यो विवादले आगामी विधान महाधिवेशनमा पार्टी एकतामा प्रश्न उठाउने संकेत गरेको छ।


सम्बन्धित समाचार