१० भदौ, काठमाडौं । विभिन्न पाँच बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका कवाड व्यवसायीहरूले मंगलबार पनि काठमाडौं महानगरपालिका कार्यालय घेराउ गरेका छन्। पेशा व्यवसाय गर्न पाउने संवैधानिक अधिकारको रक्षा गर्नुपर्ने माग गर्दै उनीहरूले नाराबाजी र धर्ना जारी राखेका छन्।
कवाड व्यवसायी, संकलक र मजदुरहरूले काठमाडौं महानगरपालिकाले पछिल्ला दिनमा आफूहरूलाई गरेको व्यवहारप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनीहरूले महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्य तुरुन्त रोक्नुपर्ने माग राखेका छन्।
प्रदर्शनको मुख्य पाँच मागहरू यसप्रकार छन्:
-
व्यवसाय गर्ने संवैधानिक अधिकारको संरक्षण।
-
कवाड व्यवसायी, संकलक र मजदुरमाथि कुटपिट, अपहरण, ज्यादती तथा संरचना भत्काउने कार्य तुरुन्त रोक्नु।
-
ज्यादतीमा संलग्न महानगर प्रहरीलाई कानुनी दायरामा ल्याउनु।
-
प्रभावित मजदुर र व्यवसायीहरूको जिउ–धनको सुरक्षा सुनिश्चित गर्नु।
-
विगत दुई वर्षमा महानगरका कारण भएको क्षतिको क्षतिपूर्ति दिनु।
हिजो सोमबार पनि आन्दोलनकारीहरूले कमलादीस्थित महानगर कार्यालय बाहिर धर्ना दिएका थिए। व्यवसायीहरूका अनुसार काठमाडौं महानगरपालिकाले कवाड संकलन र भण्डारणमा प्रतिबन्ध लगाउँदै संरचना भत्काउने, सामग्री जफत गर्ने र मजदुरहरूमाथि बल प्रयोग गर्ने कार्य गर्दै आएको छ।















