Logo

१० भदौ,काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्का र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताई योङबीच एक महत्त्वपूर्ण शिष्टाचार भेटवार्ता भएको छ। यस भेटमा आगामी सेप्टेम्बर १६ देखि १८ सम्म हुने ग्लोबल इन्फ्रास्ट्रक्चर कर्पोरेशन कन्फरेन्स २०२५ को तयारी र नेपालको ऊर्जा क्षेत्रमा कोरियाली लगानीबारे विशेष छलफल भयो।

राजदूत योङले हालसम्म ३५ देशले यस सम्मेलनमा सहभागिता निश्चित गरिसकेको जानकारी दिँदै नेपालका ऊर्जा परियोजनाहरूलाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्न यो एक उत्कृष्ट अवसर हुने बताए। उनले नेपालले यसलाई भरपुर उपयोग गर्न सक्ने विश्वास व्यक्त गरे।

भेटका क्रममा नेपालमा कोरियाको सहयोगमा अघि बढेका विभिन्न परियोजनाहरू, खासगरी अपर त्रिशूली-१ जलविद्युत् आयोजना र प्रसारण लाइन आयोजनाबारे पनि कुराकानी भयो।

मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रमा कोरियाले पुर्याएको सहयोग र लगानीको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तो सहकार्यलाई अझ मजबुत बनाउन आफू प्रतिबद्ध रहेको बताए। उनले नेपालमा थप कोरियाली लगानी भित्र्याउन सकिने आशा पनि व्यक्त गरे।

दुवै पक्षले ग्लोबल इन्फ्रास्ट्रक्चर कर्पोरेशन कन्फरेन्स २०२५ ले नेपालको जलविद्युत क्षेत्रका सम्भावना र लगानीका अवसरहरूलाई विश्वसामु उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने र यसले दुई देशबीचको ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।


सम्बन्धित समाचार