Logo

११ भदौ, काठमाडौं ।गोरखाको चुमनुब्री गाउँपालिका–६ का वडाध्यक्ष सरोज लामाले राजनीतिको ‘जस’ नपाएको भन्दै पदमै रहँदा रोजगारीका लागि विदेशिएका छन् ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका लामाले आफ्नो जिम्मेवारी वडा सदस्यलाई दिएर जर्मनी प्रस्थान गरेका हुन् । लामाले सामाजिक सञ्जालमा लेखेको सन्देशले धेरैको मन छोएको छ। ‘सकेसम्म सबैको चित्त बुझाउने गरी र इमान्दारिताका साथ काम गरेँ, तर जति गर्दा पनि कहिल्यै जस पाइनँ,’ उनले लेखेका छन्, ‘त्यसैले अब राजनीतिबाट सधैँका लागि बिदा हुँदै जिन्दगीलाई फेरि शून्यबाट सुरु गर्न परदेश लागियो।’

२०७९ सालको स्थानीय निर्वाचनमा वडाध्यक्ष बनेका लामाले वडा सदस्य ठिन्ले घ्याम्छो लामालाई कार्यवाहकको जिम्मेवारी दिएर गएको पारिवारिक स्रोतले जनाएको छ। यता, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले वडाध्यक्षले लिखित राजीनामा नदिएको बताएका छन् । लामिछानेले भने, ‘उहाँले कार्यवाहक तोकेर जानुभएको रहेछ, तर अब नफर्किने जानकारी आएको छ, पछि राजीनामा पत्र पनि आउला ।’


सम्बन्धित समाचार