११ भदौ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको विश्वास पुनः बढ्दै गएको दाबी गरेका छन्। उनले पार्टीभित्र गुटबन्दी, अराजकता र अनुशासनहीनता हुन नदिने स्पष्ट प्रतिवद्धता पनि व्यक्त गरेका छन्।
कर्णाली प्रदेशको पूर्ण बैठकलाई आज श्रव्यदृश्य प्रविधिमार्फत सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तह, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल पर्वतारोहण संघलगायत विभिन्न संस्थाहरूको हालै सम्पन्न निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारहरूले हासिल गरेको जित जनसमर्थनको संकेत भएको बताए।
उनले पार्टी स्थायी समितिले पार्टीभित्र द्वन्द्व सृजना हुन नदिने र अनुशासनलाई सुदृढ गर्दै संगठनलाई एकताबद्ध बनाउने संकल्प गरिसकेको जानकारी दिए।
शिक्षा विधेयक लगायतका राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको स्पष्ट अडानले जनमानसमा सकारात्मक सन्देश प्रवाह गरेको प्रचण्डको भनाइ छ।
उनका अनुसार पार्टीभित्र एकता, प्रतिबद्धता र जनमुखी राजनीतिलाई प्राथमिकता दिँदै अगाडि बढ्ने तयारी गरिएको छ।















