१६ भदौ, काठमाडौँ । नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै नेपाल शिक्षक महासंघले विरोध प्रदर्शन सुरु गरेको छ।
महासंघले आफ्नो पहिलो चरणको आन्दोलनअन्तर्गत आज नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, उनीहरूको आन्दोलन यहीँ रोकिने छैन। उनीहरूले भोलि बिहीबार एमालेको केन्द्रीय कार्यालय च्यासल र शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा पनि धर्ना दिने कार्यक्रम तय गरेका छन्। महासंघले ध्यानाकर्षण पत्र बुझाएर आफ्ना मागहरूमा दलहरूको ध्यानाकर्षण गराउने बताएको छ।
विधेयकको प्रावधानमा असहमति
शिक्षक महासंघले संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले पारित गरेको विद्यालय शिक्षा विधेयकमा आफ्नो गम्भीर असन्तुष्टि जनाएको छ। महासंघले अस्थायी शिक्षकहरूको पदपूर्तिमा ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा हुनुपर्ने माग गरेको छ, तर विधेयकमा भने ६० प्रतिशत मात्र तोकिएको छ।
स्थायी शिक्षकको बढुवामा अस्थायी अवधिको अनुभव गणना नभएकोमा महासंघको आपत्ति छ। विद्यालयका कर्मचारी र बाल कक्षा शिक्षकको पद तथा सेवा सुविधा विधेयकमा स्पष्ट नभएको भन्दै महासंघले विरोध गरेको छ। शिक्षण काउन्सिल र राष्ट्रिय परीक्षा बोर्डमा नेपाल शिक्षक महासंघको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ। शिक्षकको दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्ने विधेयकको प्रावधानले शिक्षकहरूको सेवामा जोखिम बढाउने भन्दै महासंघले त्यसको विरोध गरेको छ।
महासंघले आफ्नो मागहरूलाई सम्बोधन गरेर सहमतिअनुसार विधेयक परिमार्जन गरी प्रतिनिधिसभामा पेस गर्न सरकारसँग जोडदार माग गरेको छ।















