Logo

फाइल तस्वीर

२१ भदौ,वीरगञ्ज । वीरगञ्जमा हैजाको संक्रमण देखिएको दुई साता बितिसक्दा पनि संक्रमणको श्रोत अझै पत्ता लाग्न सकेको छैन। भदौ ६ गते पहिलो पटक हैजाको पुष्टि भएको यो शहरमा हालसम्म १९२ जनामा हैजा पुष्टि भइसकेको छ। तर, सरकारी निकायहरूद्वारा गरिएको विभिन्न परीक्षणमा पनि संक्रमणको मुख्य कारण पत्ता लगाउन सकिएको छैन।

स्वास्थ्य कार्यालय पर्सा, नेपाल खानेपानी संस्थान, र वीरगञ्ज महानगरपालिकाले संक्रमण प्रभावित क्षेत्रका धाराहरू तथा घरबाट खानेपानीका नमूना संकलन गरी परीक्षण गरिरहेका छन्। तर अहिलेसम्मको सबै परीक्षणमा हैजाको संक्रमण हुने भिब्रियो कोलेरा किटाणु भेटिएको छैन। केही नमूनामा इ–कोली नामक दिसाजन्य किटाणु भने फेला परेका छन्।

डब्लुएचओ र सरकारी टोलीको नमूना परीक्षण
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र स्वास्थ्य कार्यालय पर्साले संयुक्त रूपमा वीरगञ्जका ११ स्थानबाट पानीको नमूना संकलन गरी परीक्षण गर्दा ४ स्थानमा इ–कोली भेटिएको हो। युथ केयर फाउन्डेसन, स्वीकृति खाजाघर, स्वीट टी हाउस लगायत स्थानका पानी नमूनामा दिसाजन्य किटाणु देखिए पनि भिब्रियो कोलेरा भने देखिएन।

यस्तै, खानेपानी तथा ढल व्यवस्थापन विभागले ४३ स्थानबाट संकलन गरिएको पानीको नमूना परीक्षण गर्दा पनि न हैजाको किटाणु देखियो, न इ–कोली।

गृहमन्त्रीको निरीक्षणपछि पनि प्रगति छैन
गृहमन्त्री रमेश लेखक भदौ १४ गते वीरगन्ज आएर संक्रमणको श्रोत छिट्टै पत्ता लगाउने दाबी गरे पनि एक सातापछि पनि उल्लेख्य प्रगति भएको देखिँदैन।

संक्रमण घट्दो क्रममा, उपचाररत १७ जना

यद्यपि हैजा संक्रमण फैलावटको दर भने नियन्त्रण उन्मुख देखिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए। उनका अनुसार हालसम्म १९२ हैजा संक्रमितमध्ये १७५ जना निको भइसकेका छन् भने १७ जना मात्र अस्पतालमा उपचाररत छन्।

यसैबीच,हालसम्म (भदौं ६ देखि भदौं २१ गते बिहानसम्म ) कूल १ हजार ७५ जना झाडापखालाबाट संक्रमित भएकोमा तीमध्ये अस्पतालमा उपचारपछि निको भएर ९ सय ९१ जना घर फर्किसकेको ठाकुरले बताए । हाल विभिन्न अस्पतालमा गरी ८४ जनामात्रै झाडापखालाका बिरामी उपचाररत रहेको भन्दै उनले आइसियुमा उपचारत बिरामीको संख्या हाल १० मात्रै रहेको जानकारी गराए ।


सम्बन्धित समाचार