Logo

२४ भदौ, काठमाडौं । उग्र प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूले विभिन्न स्थानमा गरेको आगजनीको कारण यतिबेला काठमाडौं उपत्यका धुवाँमय बनेको छ। सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताका घर र कार्यालय लगायतका स्थानमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन्।

प्रदर्शनकारीहरूले आगो लगाउने क्रम नरोक्दा धुवाँले बानेश्वर, अनामनगर, माइतीघर, डिल्लीबजार, शंकमुल लगायतका क्षेत्रमा बसोवास गर्ने नागरिकहरूको जनजीवन प्रत्यक्ष प्रभावित भएको छ। केमिकल मिसिएको धुँवाका कारण श्वासप्रश्वासमा समस्या देखिन थालेको स्थानीयले बताएका छन्। धुँवाको कारण घरभित्र बस्दा समेत मास्क प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ।

सोमबार भएको प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए। आज बिहानैबाट प्रदर्शन थप चर्को बन्दै गएको छ। प्रदर्शनकारीहरूले शीर्ष नेता र पार्टी कार्यालयहरू तोडफोड गरिरहेका छन्। यसैबीच, मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको छ।

ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासबाट मन्त्रीहरूलाई मंगलबार दिउँसो सुरक्षित स्थानमा सारिएको छ। मन्त्रीहरूलाई सुरक्षित स्थानमा सारेका छौं, काठमाडौं उपत्यकाभित्रै सुरक्षित स्थानमा राखिएको छ, सुरक्षा निकायका एक उच्च स्रोतले जानकारी दिएको छ। नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी मन्त्रीहरूलाई सुरक्षित स्थानमा लगिएको हो।

देशभर जेनजी आन्दोलन चलिरहेको छ। काठमाडौं र इटहरीमा गरी १९ जनाको मृत्यु भएको थियो।


सम्बन्धित समाचार