Logo

२९ कात्तिक,वीरगञ्ज । मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आज दिउँसो ३ बजे आह्वान गरेको सर्वदलीय बैठक सात दलीय गठबन्धनले बहिष्कार गरेको छ। बैठकमा वर्तमान मुख्यमन्त्री सरोज कुमार यादव नेकपा एमालेका संसदीय दलका नेताको रूपमा सहभागी हुने भएपछि गठबन्धनका दलहरूले विरोधस्वरूप बैठकमा उपस्थित नहुने निर्णय गरेका हुन्।

यद्यपि, मुख्यमन्त्री यादव भने बैठकमा उपस्थित भएका छन्।

जसपा नेपालका प्रमुख सचेतक राम अशिष यादवका अनुसार मुख्यमन्त्री यादवलाई असंवैधानिक रूपमा नियुक्त गरी होटलमा शपथ ग्रहण गराइएको भन्दै उनीहरूको गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरिसकेको छ। “सुनुवाइ बाँकी रहेको अवस्थामा विवादित मुख्यमन्त्री सहभागी हुने बैठकमा हामी सामेल हुन सक्दैनौं,” उनले बताए।

उनका अनुसार यही कारणले सात दलीय गठबन्धन— जसमा जसपा नेपाल, लोसपा, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र लगायतका दलहरू छन्—ले सर्वदलीय बैठक बहिष्कार गर्ने निर्णय गरेको हो।

बैठक बहिष्कारसँगै मधेश प्रदेशको राजनीतिक द्वन्द्व झनै तीव्र बन्दै गएको छ, जहाँ मुख्यमन्त्रीको संवैधानिक वैधतामाथि गम्भीर प्रश्न उठ्दै आएका छन्।


सम्बन्धित समाचार