११ मंसिर,काठमाडौं । बङ्गलादेशको ढाकास्थित विशेष अदालतले भ्रष्टाचार र षड्यन्त्रसम्बन्धी तीनवटा धोखाधडीका मुद्दामा पूर्व प्रधानमन्त्री शेख हसिनालाई २१ वर्षको जेल सजाय सुनाएको छ। विशेष न्यायाधीश–५ मोहम्मद अब्दुल्लाह अल मामुनले प्रत्येक मुद्दामा सात–सात वर्ष जेल तोकेका हुन्।
बङ्गलादेशको भ्रष्टाचार विरोधी आयोग (एसीसी) ले गत जनवरीमा शेख हसिना र उनका परिवारका सदस्यहरू विरुद्ध ढाकाको पूर्वाचल क्षेत्रमा सरकारी प्लट गैरकानूनी रूपमा बाँडेको आरोपमा छ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो। बाँकी तीन मुद्दाको फैसला डिसेम्बर १ मा सुनाइनेछ।
अदालतले शेख हसिनाका छोरा सजीव वाजेद जोयलाई पाँच वर्षको कैद र एक लाख टाका जरिवाना, छोरी साइमा वाजेद पुतुललाई पनि पाँच वर्षको जेल सजाय सुनाएको छ।
यसअघि बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) ले सन् २०२४ जुलाईमा शेख हसिनालाई सरकार विरोधी आन्दोलन दमनको क्रममा मानवता विरुद्ध अपराध गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो।
शेख हसिना र उनका परिवारका सदस्यहरू हाल फरार छन् र अदालतमा उपस्थित हुन सकेका छैनन्। तर, उनीहरू विभिन्न भाषण र सार्वजनिक अभिव्यक्तिमा आफूहरू भ्रष्टाचारमा संलग्न नरहेको दाबी गर्दै आएका छन्।
उता, मानवता विरुद्धको अपराधसम्बन्धी मुद्दामा मृत्युदण्ड पाएकी शेख हसिनाको सुपुर्दगीको लागि बङ्गलादेशले भारतसँग अनुरोध गरेको छ। भारतीय विदेश मन्त्रालयले ढाकाबाट औपचारिक सञ्चार प्राप्त भएको र हाल त्यसको अध्ययन तथा मूल्यांकन भइरहेको बताएको छ। प्रवक्ता रणधीर जयसवालले भने, “भारतले बङ्गलादेशको शान्ति, लोकतन्त्र र स्थिरताप्रति प्रतिबद्धतासँगै सबै पक्षसँग संवाद जारी राख्नेछ।”
सन् २०२४ जुलाईमा शेख हसिनाविरुद्ध विद्यार्थी नेतृत्वको व्यापक आन्दोलन भड्किएको थियो। निरन्तर दबाबपछि उनी सन् २०२४ अगस्ट ५ मा भारत पुगेकी थिइन्। त्यसपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो, जसले हालसम्म कानूनी र राजनीतिक प्रक्रिया अघि बढाइरहेको छ।

















