Logo

१९ माघ, काठमाडौं । आगामी निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सक्रिय रहेको निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवार र दलहरूमाथि कारबाहीको प्रक्रियालाई तीव्र पारेको छ ।

पछिल्लो दुई दिनमा मात्रै आयोगले थप नौ जनालाई स्पष्टीकरण सोधेको छ, जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चर्चित उम्मेदवारहरू मुख्य निशानामा परेका छन् । बाजुराबाट रास्वपाका उम्मेदवार हेमराज थापाले बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई लक्षित गरी अपमानजनक र धम्कीपूर्ण भाषा प्रयोग गरेको तथा सामाजिक सञ्जालमा अमर्यादित पोष्ट गरेको उजुरीका आधारमा आयोगले तीन दिनभित्र जवाफ माग गरेको छ । उहाँलाई मुख्यमन्त्री कार्यालयमै पुगेर अपशब्द प्रयोग गरेको र आर्थिक स्रोत सङ्कलनमा आचारसंहिता पालना नगरेको गम्भीर आरोप लागेको छ ।

त्यसैगरी, झापा क्षेत्र नम्बर ५ बाट रास्वपाकै उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको छ । शाहको चुनावी प्रचारमा सादा पोसाकका प्रहरी परिचालन गरी भोट मागेको श्रव्यदृश्य सामग्री प्राप्त भएपछि आयोगले यसबारे कडा स्पष्टीकरण मागेको हो । निर्वाचनको समयमा सुरक्षाकर्मीको दुरुपयोग भएको आशंका गर्दै आयोगले शाहकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको विषयमा सत्यतथ्य खुलाउन निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता २०८२ को पालनामा कडाइ गर्दै आयोगले उम्मेदवारहरूका हरेक गतिविधिलाई सुक्ष्म निगरानीमा राखेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभएको छ ।

दलगत रूपमा नेपाली कम्युनिष्ट पार्टीलाई पनि निर्वाचन कार्यालय बाहिर दलको चिह्न पेन्ट गरेर आचारसंहिता विपरीत प्रदर्शन गरेको भन्दै स्पष्टीकरण सोधिएको छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का उम्मेदवार माधव सापकोटासहित रुद्र गिरी, मङ्गल प्रजा र अशोक टमानीलाई समेत आयोगले आफ्नो दायरामा ल्याएको छ । हालसम्म आयोगले कुल २९ वटा स्पष्टीकरण सोधिसकेकोमा १४ वटाको जवाफ प्राप्त भइसकेको छ ।

अमर्यादित सन्देश फैलाउने सञ्चारमाध्यम र व्यक्तिहरूलाई कारबाहीका लागि प्रेस काउन्सिलमा लेखी पठाइएको भन्दै आयोगले आचारसंहिता उल्लङ्घनमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ ।


सम्बन्धित समाचार