७ चैत,वीरगञ्ज । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत कर्णाली र लुम्बिनी प्रदेशबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ। वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेल वर्षा सुरु भएसँगै रोकिएको हो।
वर्षा सुरु हुनुअघि कर्णाली प्रदेशले ब्याटिङ गर्दै सात ओभरमा २० रन जोडेको थियो। कर्णालीका ओपनर रवीन्द्र शाहीले ९ तथा सुनिल धमलाले ७ रन बनाएका थिए। लुम्बिनीका बलर सन्देश थापाले चार ओभरमा १२ रन खर्चिएका थिए भने राजेन्द्र बमले तीन ओभरमा एक मेडनसहित आठ रन दिएका थिए।
यसअघि टस जितेको लुम्बिनी प्रदेशले कर्णालीलाई ब्याटिङको निम्तो दिएको थियो। खेल सुरु भएको केही समयमै वर्षा भएपछि खेल रोकिएको नेपाल क्रिकेट संघ (क्यान) मधेस प्रदेशका कोषाध्यक्ष सुवास जयसवालले जानकारी दिए।
यसैगरी, वर्षाका कारण जनकपुरस्थित रामजानकी रंगशालामा शनिबार हुने भनिएको कोशी र मधेस प्रदेशबीचको खेल पनि प्रभावित भएको छ। उद्घाटन समारोहसमेत वर्षाका कारण प्रभावित बनेको जयसवालले बताए।
यस संस्करणको प्रधानमन्त्री कप मधेस प्रदेशका वीरगन्ज र जनकपुरसहित काठमाडौंका तल्लो तथा माथिल्लो मुलपानी क्रिकेट मैदानमा आयोजना हुँदैछ। प्रतियोगिताअन्तर्गत १९ खेल वीरगन्जमा, १७ खेल जनकपुरमा र बाँकी १० खेल मुलपानीमा हुने तालिका रहेको छ।
आईसीसी विश्वकप लिग–२ को तयारीका लागि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय रंगशालामा भने कुनै पनि खेल नराखिएको क्यानले जनाएको छ। सो रंगशालामा तय भएका खेलहरू मुलपानीमा सारिएका छन्।
झण्डै एक महिनासम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी १० टोली सहभागी छन्। प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साविक विजेता नेपाल पुलिस क्लब रहेको छ।




















