Logo

९ चैत,काठमाडौं । संकटा फुटबल क्लब ले विदेशी खेलाडीहरूले श्रम स्वीकृति बिना पर्यटक भिसामा खेलिरहेको विषयका कारण राष्ट्रिय लिग तथा महिला लिग स्थगित गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

क्लबले जारी गरेको विज्ञप्तिमा पुरुष र महिला दुवै टोलीले सम्बन्धित प्रतियोगितामा सहभागिता जनाएको उल्लेख गर्दै नियमावलीअनुसार विदेशी खेलाडीहरूलाई विधिवत् अनुबन्ध गरिएको स्पष्ट पारेको छ। साथै, ती खेलाडीहरूको श्रम स्वीकृतिका लागि आवश्यक सम्पूर्ण कागजात प्रतियोगिता सुरु हुनुभन्दा अघि नै अखिल नेपाल फुटबल संघ मा पेश गरिएको दाबी गरिएको छ।

लिग स्थगित भएपछि सीमित स्रोत–साधनबाट गरिएको आर्थिक लगानी जोखिममा परेको क्लबको भनाइ छ। यसले भविष्यमा फुटबल क्षेत्रमा लगानी गर्न इच्छुक अन्य संघ–संस्थालाई समेत निरुत्साहित पार्ने सम्भावना रहेको संकटाले जनाएको छ।

क्लबले प्रतियोगिता शीघ्र पुनः सञ्चालन गर्न माग गर्दै विदेशी खेलाडीहरूको श्रम स्वीकृति तत्काल प्रदान गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। साथै, लिग लामो समयसम्म सञ्चालन हुन नसके क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग पनि अघि सारेको छ।

संकटाले विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदा लागेको खर्चको विवरण समेत सार्वजनिक गरेको छ।

यसअघि अखिल नेपाल फुटबल संघ ले गत बिहीबार प्राविधिक कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि शहीद स्मारक महिला लिग तथा पुरुषतर्फको राष्ट्रिय लिग फुटबल प्रतियोगिता स्थगित गरेको थियो।


सम्बन्धित समाचार
भर्खरै