Logo

११ चैत,काठमाडौं । २८ मार्चदेखि सुरु हुँदै ३१ मेसम्म आयोजना हुने इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ यस वर्षको अबसम्मकै ठूलो सिजन हुने भएको छ।

यस १९औँ सिजनमा १० टिमबीच कूल ८४ खेल खेलिने छन्। प्रत्येक टिमले १६–१६ खेल खेलेर उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलोरु र सनराइजर्स हैदराबादबीच बेंगलोरुको एम चिन्नास्वामी स्टेडियममा हुनेछ।

भारतमा अप्रिल–मे महिनामा हुने विधानसभा चुनावका कारण पहिलो चरणको २० खेल (२८ मार्च–१२ अप्रिल) मात्र सार्वजनिक गरिएको छ। बाँकी खेलहरूको तालिका पछि सार्वजनिक हुने तयारी छ। फाइनल खेल ३१ मे बेंगलोरुमा हुने भनिएको छ।

मैदान र शहर

आइपीएल २०२६ का खेल भारतका १३ फरक सहरमा आयोजना हुनेछन्। १० टिममध्ये ७ टिमले आफ्नो होम ग्राउन्ड रोजेका छन् भने बेंगलोरु, पंजाब र राजस्थानसँग २–२ होम ग्राउन्ड रहनेछन्। यस सिजन रायपुरस्थित सहिद भिर नारायण स्टेडियममा १३ वर्षपछि आइपीएल खेल हुने छ।

नयाँ नियम र सुरक्षा

यो सिजनको खेलमा म्याचकै दिन अभ्यास (नेट) अनुमति छैन। खेलाडीहरूले अनिवार्य रूपमा टिम बसमार्फत यात्रा गर्नुपर्नेछ। परिवारका सदस्यलाई केवल आतिथ्य क्षेत्रमा मात्र बस्न अनुमति छ। साथै स्टाफले सधैं आइडी कार्ड राख्नुपर्नेछ र डगआउटमा अनुमतिविना बालबालिकालाई ल्याउन पाइने छैन। ड्रेस कोड र प्रसारण नियम पनि कडाइका साथ लागू हुनेछन्।

महँगो खेलाडी

यस सिजनको अक्सनमा क्यामरुन ग्रिन सबैभन्दा महँगो खेलाडी बने, जसलाई कोलकाता नाइट राइडर्सले २५.२० करोड रुपैयाँमा किन्यो। भारतीय अनक्याप्ड खेलाडीमध्ये प्रशान्त वीर र कार्तिक शर्मालाई चेन्नई सुपर किंग्सले १४.२०–१४.२० करोडमा अनुबन्ध गरेको छ।

आइपीएल २०२६ का खेलहरू स्टारस्पोर्ट्स नेटवर्कमा टेलिभिजन मार्फत हेर्न सकिन्छ भने डिजिटल रूपमा जियो हटस्टारमा स्ट्रिम गर्न सकिनेछ। नेपालमा कान्तिपुर म्याक्सले लाइभ प्रसारण गर्नेछ।


सम्बन्धित समाचार
भर्खरै