१८ चैत, वीरगञ्ज । कुपर कोनोलीको उत्कृष्ट ब्याटिङको मद्दतले पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजनमा सुखद सुरुवात गरेको छ । मंगलबार भएको आफ्नो पहिलो खेलमा पन्जाबले गत सिजनको उपविजेता गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गर्दै महत्त्वपूर्ण दुई अंक जोडेको हो ।
गुजरातले दिएको १६३ रनको लक्ष्य पन्जाबले ५ बल बाँकी छँदै ७ विकेट गुमाएर पूरा गर्यो। पन्जाबको जितमा नायक बनेका कोनोलीले ४४ बलमा अविजित ७२ रनको इनिङ्स खेले ।
सुरुवाती ओभरमा प्रियांश अर्याले मोहम्मद सिराजको बलमा छक्का प्रहार गरी आक्रामक सुरुवात गरे पनि दोस्रो ओभरमै कागिसो रबाडाको बलमा क्याच आउट भए। अर्का ओपनर प्रभसिमरन सिंहले २४ बलमा ३७ रन (१ चौका र ४ छक्का) को योगदान दिए।
मध्यक्रममा कप्तान श्रेयस ऐर १८ रनमा आउट भए भने नेहाल बाधेरा, शशांक सिंह र मार्कस स्टोइनिस सस्तोमा समेटिएपछि पन्जाब केही समय संकटमा देखिएको थियो । मार्को यान्सनले ११ रन जोड्दै कोनोलीलाई साथ दिए । गुजरातका लागि प्रसिद्ध कृष्णले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६२ रन जोडेको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ३९ रन बनाए भने जस बटलरले ३ चौका र २ छक्काको मद्दतले ३८ रनको योगदान दिए। ग्लेन फिलिप्सले २५ रन जोडे पनि मध्य ओभरमा पन्जाबका बलरहरूले कसिलो बलिङ गरेपछि गुजरातले ठूलो स्कोर खडा गर्न सकेन ।
६ देखि ११ ओभरको बीचमा गुजरातले मात्र ४२ रन जोड्न सक्यो । वाशिङ्टन सुन्दर १८ र शाहरुख खान ४ रनमा आउट भए भने राहुल तेवाटिया ११ रनमा अविजित रहे। पन्जाबका लागि युजभेन्द्र चहल र विजयकुमार वैशकले उत्कृष्ट बलिङ गर्दै गुजरातको रन गतिमा अंकुश लगाएका थिए। पन्जाबका कुपर कोनोली खेलको ‘प्लेयर अफ द म्याच’ चुनिए ।




















