Logo

२३ चैत, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले साविक विजेता चेन्नई सुपर किंग्समाथि ४३ रनको महत्वपूर्ण जित दर्ता गरेको छ। एम चिन्नास्वामी रंगशालामा बैंगलुरुले प्रस्तुत गरेको २ सय ५१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा चेन्नई १९.४ ओभरमा २ सय ७ रन बनाउँदै अलआउट भयो ।

चेन्नईका लागि सरफराज खानले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । बैंगलुरुको बलिङतर्फ भुवनेश्वर कुमारले घातक बलिङ गर्दै ३ विकेट लिए भने ज्याकोब डफी, अभिनन्दन सिंह र क्रुनाल पाण्ड्याले समान २–२ विकेट हात पारे। सुयाष शर्माले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलुरुले निर्धारित २० ओभरमा मात्र ३ विकेट गुमाएर २ सय ५० रनको विशाल योगफल तयार पारेको थियो । यो जितसँगै बैंगलुरुले प्रतियोगितामा ४ अंक जोड्दै तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । अर्कोतर्फ, चेन्नईका लागि यो सिजन निकै खराब सावित भएको छ। खेलेका तीनै खेलमा पराजित भएको चेन्नई हालसम्म अंकविहीन रहँदै तालिकाको पुछारतिर धकेलिएको छ ।

त्यस्तै, आईपीएल अन्तर्गत नै हिजो भएको अर्को खेलमा लखनउ सुपर जायन्ट्सले विजयी सुरुवात गरेको छ। राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको प्रतिस्पर्धामा लखनउले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गर्‍यो। हैदरावादले दिएको १ सय ५७ रनको लक्ष्य लखनउले १९.५ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

लखनउको जितमा कप्तान ऋषभ पन्तले उत्कृष्ट अर्धशतकीय योगदान दिए। पहिलो जितसँगै २ अंक जोडेको लखनउ तालिकाको सातौँ स्थानमा उक्लिएको छ । पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा सबै विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो। हारका बाबजुद हैदरावाद तालिकाको पाँचौँ स्थानमा यथावत छ ।

प्रतियोगिता अन्तर्गत आज पञ्जाब किंग्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा हुने यो खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ। दुवै टोली आजको खेल जितेर अंक तालिकामा आफ्नो स्थिति सुधार गर्ने दाउमा रहेका छन् ।


सम्बन्धित समाचार
भर्खरै