२४ चैत, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूमाथि लगाइएको निलम्बन सात दिनभित्र फुकुवा गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई आग्रह गरेको छ। एन्फाले एक पत्रमार्फत राखेपको निर्णयले नेपाली फुटबलमा अन्तर्राष्ट्रिय संकट निम्त्याउन सक्ने भन्दै तत्काल निलम्बन हटाउन अनुरोध गरेको हो ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले राखेपको कदमलाई ‘तेस्रो पक्षको हस्तक्षेप’ भन्दै अस्वीकार गरेपछि एन्फाले यो कदम चालेको हो । फिफाले गएको चैत १३ गते पत्राचार गर्दै स्थगित भएको चुनावी प्रक्रिया सात दिनभित्र सुचारु गरी सम्पन्न गर्न निर्देशन दिएको एन्फाले जनाएको छ ।
फिफाले आफ्नो निर्देशन पालना नभएमा उक्त विषय फिफा काउन्सिलमा लगिने र नेपाललाई पूर्ण रूपमा निलम्बन गर्न सिफारिस गरिने चेतावनी दिएको छ। यस्तो अवस्था आएमा नेपालले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सहभागिता जनाउन पाउने छैन भने फिफा र एएफसीबाट प्राप्त हुने वार्षिक आर्थिक अनुदान समेत रोकिने जोखिम रहेको छ।
पटक–पटकको निर्देशनका बावजुद तहगत निर्वाचन नगरेको आरोप लगाउँदै राखेपले गत चैत ११ गतेको निर्णयअनुसार एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो। तर, फिफा र एएफसीले सरकारी निकायको यस्तो हस्तक्षेपलाई फिफा विधानविपरीत मानेका छन् ।
एन्फाले राखेपलाई पठाएको पत्रमा नेपालको फुटबल भविष्य र अन्तर्राष्ट्रिय छवि जोगाउनका लागि निलम्बन फुकुवा गर्नुको विकल्प नरहेको उल्लेख गरिएको छ । अब राखेपले फिफाको यो कडा चेतावनी र एन्फाको अनुरोधलाई कसरी सम्बोधन गर्छ भन्ने विषयले नेपाली फुटबलको आगामी दिशा तय गर्नेछ ।




















