Logo

२७ चैत, काठमाडौँ । मुकुल चौधरीको विष्फोटक अर्धशतकको मद्दतले लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्समाथि ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। कोलकातास्थित इडेन गार्डेनमा राति भएको खेलमा लखनऊले १८२ रनको लक्ष्य अन्तिम बलमा पूरा गर्दै महत्वपूर्ण २ अंक बटुलेको हो ।

लखनऊको जितका मुख्य नायक मुकुल चौधरी रहे। उनले मात्र २७ बलमा २ चौका र ७ छक्का प्रहार गर्दै अविजित ५४ रनको योगदान दिए। उनले आठौँ विकेटका लागि अभेष खानसँग ५४ रनको अविजित साझेदारी गर्दै टोलीलाई हारको मुखबाट बचाएका थिए। साझेदारीमा अभेषले ३ बलमा १ रन जोडे पनि मुकुलले विष्फोटक ब्याटिङ जारी राखेका थिए ।

यसअघि लखनऊका लागि आयुष बदोनीले पनि ५४ रनको अर्धशतकीय इनिङ्स खेले। ओपनर मिचेल मार्श १५ र एडेन मारक्रम २२ रनमा आउट हुँदा कप्तान ऋषभ पन्त १० रनमै समेटिएका थिए। निकोलस पूरनले १३ र अब्दुल समादले २ रन मात्र जोड्न सके। कोलकाताका लागि नवदीप सैनी र वैभव अरोराले २–२ विकेट लिए भने सुनिल नारिनले ४ ओभरमा किफायती बलिङ गर्दै १३ रन खर्चेर १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८१ रनको सम्मानजनक योगफल तयार पारेको थियो। टोलीका लागि अंगक्रिस रघुवंशीले सर्वाधिक ४५ रन र कप्तान अजिन्क्या रहाणेले ४१ रन बनाए। त्यस्तै, रोभमन पवेल ३९ र क्यामरन ग्रिन ३२ रनमा अविजित रहे पनि टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन। लखनऊका प्रिन्स यादव, मनिमरन सिद्धार्थ, दिग्वेश राठी र अभेष खानले १–१ विकेट हात पारेका थिए ।

यो जितसँगै लखनऊ ३ खेलमा दोस्रो विजय हासिल गर्दै अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। उता, ४ खेल खेलिसक्दा पनि जितविहीन रहेको कोलकाता १ अंकका साथ तालिकाको नवौँ स्थानमा झरेको छ। अन्तिम बलसम्म चलेको यो प्रतिस्पर्धाले इडेन गार्डेनका दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो ।


सम्बन्धित समाचार
भर्खरै