Logo

२९ चैत,वीरगञ्ज । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गरेको छ। वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा सम्पन्न खेलमा गण्डकीले सहज जित हात पारेको हो।

लुम्बिनीले दिएको २०७ रनको लक्ष्य गण्डकीले ४४.१ ओभरमा मात्र दुई विकेट गुमाउँदै पूरा गर्यो। गण्डकीको जितमा ओपनर अर्जुन कुमालले उत्कृष्ट शतकीय इनिङ खेले। उनले १३० बलमा अविजित १०३ रन बनाउँदै टोलीलाई जित दिलाए। उनको इनिङमा एक छक्का र १३ चौका समावेश थियो। जारी प्रतियोगितामा यो उनको दोस्रो शतक हो। यसअघि उनले कोशीविरुद्ध १०२ रन बनाएका थिए। हालसम्म ४९८ रन जोड्दै अर्जुन प्रतियोगिताको सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका छन्।

गण्डकीका अर्का ओपनर क्रिबिन श्रेष्ठले ४३ रन बनाउँदा दिपक डुम्रे २५ रनमा अविजित रहे। मुस्कान थापाले २३ रनको योगदान दिए। लुम्बिनीका बलर सन्तोष यादव र दिनेश बोहोराले समान एक–एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ४५ ओभरमा सबै विकेट गुमाउँदै २०७ रन बनाएको थियो। लुम्बिनीका सन्तोष यादवले ८० रनको महत्वपूर्ण पारी खेले भने सलाउदिन खानले ६० रन जोडे। दिनेश बोहोराले २० तथा कप्तान देव खनालले १४ रन बनाए। अन्य ब्याटर भने चल्न सकेनन्। ओपनर रञ्जित खड्का एक रनमै आउट भए।

गण्डकीका बलर विपिन खत्रीले ४ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे। अप्राजित पौडेलले ३, क्रिबिन श्रेष्ठले २ तथा विश्व कार्कीले १ विकेट लिए।

यस जितसँगै गण्डकीले ८ खेलबाट ७ अंक जोडेको छ भने ७ खेल खेलेको लुम्बिनीको पनि ७ अंक नै रहेको छ।


सम्बन्धित समाचार
भर्खरै