२ वैशाख,काठमाडौं । प्रधानमन्त्री क्रिकेट कप प्रतियोगिताको समूह चरण समाप्त भएसँगै जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगितामा सहभागी हुने ६ टोलीको टुंगो लागेको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यसअघि ४ टोलीबीच मात्र सीमित रहेको प्रतियोगिता आगामी वर्षदेखि विस्तार गरी ६ टोलीसम्म पुर्याइएको हो।
नयाँ संरचना अनुसार यस पटक त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम रोयल्ससँगै सशस्त्र प्रहरी बल (एपीएफ), मधेश प्रदेश, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबले जय ट्रफीमा प्रतिस्पर्धा गर्नेछन्।
यससँगै गण्डकी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेश भने आगामी संस्करणको जय ट्रफीमा स्थान बनाउन असफल भएका छन्।





















