Logo

३ वैशाख,वीरगञ्ज ।  बाराको परवानीपुरमा पाँचौं संस्करणको परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता वैशाख ५ गतेदेखि सुरु हुने भएको छ। आयोजक शक्ति युवा क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै वैशाख ५ देखि १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।

परवानीपुर खेल मैदानमा आयोजना हुने प्रतियोगितामा भारतको एकसहित नेपालका सात गरी कुल आठ टोली सहभागी हुनेछन्। प्रतियोगिताका संयोजक संजय मण्डलका अनुसार आयोजक शक्ति युवा क्लब परवानीपुर, वीरगन्ज युनाइटेड क्लब, वीरगन्ज युथ क्लब, रिगल हेटौडा एन्फा क्लब, नव जनजागृति युवा क्लब सिमरा, चिडिया दह क्लब रौतहट, निजगढ फुटबल क्लब र यंग स्टार क्लबले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिता सञ्चालनका लागि करिब १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सहसंयोजक दीपक यादवले जानकारी दिए। प्रतियोगिताका विजेताले नगद २ लाख रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुबोध श्रीवास्तवले बताए।

पत्रकार सम्मेलनमा क्लबका उपाध्यक्ष हुलास यादव, महासचिव ध्रुव साह, कोषाध्यक्ष सोनालाल मण्डल, प्रशिक्षक पंकज चौधरी, पूर्व फुटबल खेलाडी बिनोद न्यौपाने, प्रहरी चौकी परवानीपुरका इन्चार्ज शक्ति श्रेष्ठ तथा अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार
भर्खरै