Logo

४ बैशाख, काठमाडौं । नेपाली क्रिकेटमा एउटा नयाँ मोड देखिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यूएईविरुद्ध हुने आगामी टी–२० आई शृङ्खलाका लागि अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई कप्तानीको जिम्मेवारी सुम्पिएको छ । सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने दुई खेलको शृङ्खलाका लागि क्यानले १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

कप्तानीमा परिवर्तन र रोहितको अनुपस्थिति

यसपटक क्यानले कप्तानीमा नयाँ रणनीति अपनाएको देखिएको छ । टी–२० टोलीको बागडोर दीपेन्द्रलाई दिँदा नियमित कप्तान रोहित पौडेल भने १५ सदस्यीय टोलीमै अटाएका छैनन् । क्यानका अनुसार रोहितले ओडिआई टोलीको नेतृत्व सम्हाल्नेछन् भने टी–२० मा दीपेन्द्रले टोलीलाई डोर्‍याउनेछन्। घरेलु मैदानमा हुन लागेको यो शृङ्खलालाई दीपेन्द्रको नेतृत्व क्षमता परीक्षणको रूपमा समेत हेरिएको छ ।

पुनरागमन र नयाँ अनुहारको अवसर

घोषित टोलीमा केही पुराना अनुहारको पुनरागमन भएको छ भने केही नयाँ खेलाडीले अवसर पाएका छन् । विस्फोटक ब्याटर कुशल मल्ल र विकेटकिपर अर्जुन साउदले टोलीमा पुनरागमन गरेका छन् ।

यस्तै, युवा खेलाडीहरू सन्तोष यादव र हेमन्त धामीले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउँदै डेब्यूको ढोका ढकढक्याएका छन् । अर्जुन साउदले सन् २०२२ पछि पहिलोपटक टी-२० टोलीमा स्थान बनाएका हुन् ।


सम्बन्धित समाचार
भर्खरै