५ वैशाख,काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत गएराति सम्पन्न खेलमा गुजरात टाइटन्स ले कोलकाता नाइट राइडर्स लाई ५ विकेटले पराजित गरेको छ। नरेन्द्र मोदी स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा गुजरातले १८१ रनको लक्ष्य अन्तिम ओभरमा पूरा गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा सबै विकेट गुमाउँदै १८० रन बनाएको थियो। टोलीका लागि क्यामरन ग्रीनले ५५ बलमा ७९ रनको उत्कृष्ट योगदान दिए पनि अन्य ब्याट्सम्यानले प्रभाव जमाउन सकेनन्।
गुजरातका बलरहरू मध्ये कागिसो रबाडाले ३ विकेट र मोहम्मद सिराजले २ विकेट लिँदै कोलकाताको ब्याटिङ लाइनअपलाई दबाबमा राखे।
जवाफी इनिङ्समा गुजरातका कप्तान शुबमन गिल ले शानदार ब्याटिङ गर्दै ५० बलमा ८ चौका र ४ छक्कासहित ८६ रनको विष्फोटक पारी खेले। उनको इनिङ्सले गुजरातलाई जिततर्फ मजबुत आधार दिएको थियो।
जोस बटलर र साई सुदर्शनले पनि महत्वपूर्ण योगदान दिएपछि गुजरातले १९.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
यो जितसँगै गुजरात टाइटन्सले अंक तालिकामा आफ्नो स्थिति मजबुत बनाएको छ भने कोलकाता नाइट राइडर्स लगातार खराब प्रदर्शनका कारण दबाबमा परेको छ।




















