२१ बैशाख, चितवन । भरतपुरबाट सुरु भएको यो एक दिने साहित्यिक–सांस्कृतिक यात्रा केवल औपचारिक कार्यक्रममा पुग्ने उद्देश्य मात्र थिएन, यो त भाषा, कला, साहित्य, प्रकृति र मानवीय आत्मीयताको गहिरो अनुभूति दिने एक अविस्मरणीय जीवन्त यात्रा बन्यो।
बिहान करिब ७:४० बजे होली भिजन पब्लिक स्कुलको बसमा भरतपुरबाट हाम्रो यात्रा सुरु भयो। कटरचोक, जगतपुर हुँदै विभिन्न व्यक्तित्वहरूलाई उठाउँदै हामी चितवन राष्ट्रिय निकुञ्जतर्फ अगाडि बढ्यौँ । चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने बित्तिकै हरियाली, चराचुरुङ्गीको आवाज र शीतल हावाले यात्रालाई विशेष बनाइरहेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जभित्र कसर क्षेत्रमा हामी केही समयका लागि रोकियौँ। त्यहाँ नेपाली सेनाले गर्ने नियमित सुरक्षा चेकिङका कारण सबै यात्रुहरू गाडीबाट ओर्लिनुपर्ने हुन्छ। आवश्यक जाँच–प्रक्रिया पूरा भएपछि हामी पुनः यात्रामा अगाडि बढ्यौँ।
त्यही रोकाइको क्रममा यात्रुहरू आ–आफ्ना आवश्यकताका लागि शौचालयतर्फ गएका थिए। सोही क्रममा निकुञ्ज क्षेत्रमा शौचालय प्रयोग गर्दा लाग्ने शुल्कबारे पनि बसभित्र सामान्य छलफल भयो। यात्राका क्रममा यही विषय फेरि स्मरण भयो ।
यसै सन्दर्भमा विपिन पाठकजीले हास्यरसमा कुरा उठाउँदै भन्नुभयो—“पहिला त १० रुपैयाँ लिने गरेको थियो, रेशमजीले समाचार लेखेपछि ५ रुपैयाँ भएको हो रे।” उहाँको यो टिप्पणीले बसभित्र हल्का हास्य र चर्चा सिर्जना गर्यो। यसअघि मैले यस विषयमा समाचार लेखेको सन्दर्भ पनि यात्राकै बीचमा स्मरण भयो, जसमा मेरो आशय शुल्क घटाउनु होइन, नागरिकले आधारभूत सुविधा निःशुल्क पाउनुपर्छ भन्ने थियो भन्ने कुरा पनि पुनः छलफलमा आयो।
त्यसपछि सबैजना फेरि बसमा चढेपछि हाम्रो यात्रा निकुञ्जको गहिराइतर्फ अघि बढ्यो। हरियाली जंगल, चराचुरुङ्गीको आवाज, राप्ती नदीको किनार र वन्यजन्तुको झलकले यात्रालाई रोमाञ्चक बनाइरहेको थियो।

करिब ९ बजे हामी रिउ नदी पार गर्दै माडी प्रवेश गर्यौँ । बसन्तपुर क्षेत्रमा थारु समुदायका महिलाहरू आफ्नो मौलिक भेषभूषामा कार्यक्रममा सहभागी हुन तयारी अवस्थामा देखिनुहुन्थ्यो, जसले यात्रालाई अझ सांस्कृतिक बनायो ।
हामी माडी नगरपालिका वडा नम्बर ९ स्थित दुरा सामुदायिक होमस्टेमा पुग्यौँ। त्यहाँ समुदायले पुष्पगुच्छासहित अत्यन्त आत्मीय स्वागत गर्यो। होमस्टेको मौलिक घर संरचना, खुला चौर, सफा वातावरण र ग्रामीण सौन्दर्यले सबैलाई आकर्षित गर्यो ।
दुरा समुदायले तयार पारेको सेलरोटी, तरकारी, गुन्द्रुकको अचार र सलाद सबैले खुलेर प्रशंसा गरे। ग्रामीण स्तरमै यस्तो स्वच्छ, व्यवस्थित र आत्मीय आतिथ्य देख्दा सबै जना प्रभावित भए ।
त्यसपछि माडी नगरपालिका वडा नम्बर ९ दुरा सांस्कृतिक भवनमा “माडीमा साहित्य, कला र संस्कृतिको प्रवर्द्धनमा दुई प्रतिष्ठानको सहकार्य” अन्तर्गत औपचारिक कार्यक्रम सुरु भयो।
कार्यक्रमको सभाध्यक्षता भाषा, कला तथा सांस्कृतिक प्रतिष्ठान नेपालका संस्थापक तथा वर्तमान अध्यक्ष एवं विशिष्ट समालोचक डा. एकनारायण पौडेलले गर्नुभएको थियो।
प्रमुख अतिथिका रूपमा माडी नगरपालिकाकी नगर प्रमुख ताराकाजी कुमारी महतो रहनुभएको थियो ।
विशिष्ट अतिथिहरूमा भरतपुर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण खनाल, माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषाल, माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
स्वागत मन्तव्यमा अध्यक्ष नारायणप्रसाद सापकोटाले भाषा, कला र संस्कृतिको संरक्षणका लागि संस्थागत सहकार्य आवश्यक रहेको बताउनुभयो । माडीको मौलिक पहिचान जोगाउँदै नयाँ पुस्तामा साहित्यिक चेतना विकास गर्न यस्ता कार्यक्रम उपयोगी हुने उहाँको धारणा थियो ।
प्रमुख अतिथि नगर प्रमुख ताराकाजी कुमारी महतोले माडीको विकासमा भाषा, साहित्य र संस्कृतिको महत्वपूर्ण भूमिका रहेको बताउँदै स्थानीय सरकारले यस्ता गतिविधिलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि नारायण खनालले भाषा र वाङ्मय बिना समाजको बौद्धिक उन्नति सम्भव नहुने उल्लेख गर्दै दुई प्रतिष्ठानको सहकार्यले माडीलाई सांस्कृतिक केन्द्रका रूपमा अघि बढाउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा एल.बी. क्षेत्री, प्रकाश चापागाईं, धनेश्वर भट्टराई लगायतले मन्तव्य राख्नुभयो । साहित्यिक प्रस्तुतिमा कवि भूपिन खड्काले कविता वाचन गर्नुभयो भने प्रविण भण्डारीले गजल प्रस्तुत गर्नुभयो। उहाँको गजल प्रस्तुतिले सबैलाई भावुक बनायो र कार्यक्रमलाई अझ साहित्यिक रंग दिएको अनुभूति भयो ।
गन्धर्व समुदायको लोकभाका, थारु समुदायको मौलिक नृत्य र दुरा समुदायको सांस्कृतिक प्रस्तुति कार्यक्रमको प्रमुख आकर्षण बन्यो। यी प्रस्तुतिहरूले माडीको बहुजातीय सांस्कृतिक पहिचानलाई अत्यन्त जीवन्त रूपमा प्रस्तुत गरे ।
यहाँ सबै सहभागीहरूको साझा भावना थियो—भाषा, कला, संस्कृति र भेषभूषा जोगिए मात्र नेपाल जोगिन्छ। पुस्ता हस्तान्तरण बिना यी सम्पदा हराउने खतरा रहेको कुरामा पनि सबैको सहमति देखियो । कार्यक्रमको समापन धनेश्वर भट्टराईले धन्यवाद मन्तव्यसहित गर्नुभयो ।
कार्यक्रमपछि हामी माडी नगरपालिका वडा नम्बर ९ स्थित ऐतिहासिक राम जन्मभूमि (अयोध्या धाम) अवलोकन गर्न गयौँ। कतिपयका लागि यो पहिलो दर्शन थियो भने कतिपयका लागि पुनः अनुभूतिको क्षण बन्यो ।

त्यसपछि माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष आदरणीय दाजु नारायण सापकोटासहित मेरो जन्मघर पुगियो। करेसाबारीका काँक्रा खाइयो, आँगनमा फोटो खिचियो र पुराना सम्झनाहरू ताजा भए। सबैले भन्नुभयो—यस्ता घर, बारी र गाउँ जोगाउन सके मात्र माडीको पहिचान जीवित रहन्छ ।
माडी नगरपालिका वडा नम्बर ६ लक्ष्मीबासस्थित पुष्प–मदन बाटिका अवलोकन गरियो, जहाँ मदन भण्डारीको स्मृतिस्थलबारे जानकारी दिइयो। त्यसपछि माडीभ्यू सामुदायिक होमस्टे अध्यक्ष जितबहादुर चापागाईंको सहजीकरणमा भ्यू टावरबाट प्राकृतिक दृश्य अवलोकन गरियो ।
फर्किने क्रममा रिउ नदी किनारमा चिया पिउँदै फेरि आत्मीय संवाद भयो। जंगल, नदी र हरियाली दृश्यसँगै चियाको स्वादले यात्रा अझ स्मरणीय बनायो । चितवन राष्ट्रिय निकुञ्ज हुँदै फर्किने क्रममा दुई गैंडा, चित्तल र चराचुरुङ्गी देखिनु यात्राको अन्तिम प्राकृतिक उपहार जस्तै बन्यो ।
जगतपुर हुँदै साथीहरू छुट्दै गए। अन्त्यमा म गणेशस्थानतर्फ प्रस्थान गरेँ, जहाँ मलाई दाजु शोभाकान्त पौडेलले मोटरसाइकलमा घरसम्म पुर्याइदिनुभयो । यो सम्पूर्ण यात्रा केवल कार्यक्रमको सहभागिता मात्र थिएन, यो माडीको संस्कृति, प्रकृति, साहित्य, मानवीय आत्मीयता र सामाजिक चेतनासँगको गहिरो अनुभूति थियो। भाषा, कला, संस्कृति र परम्परा जोगाउन सके मात्र देश जोगिन्छ भन्ने सन्देश यो यात्राले स्पष्ट रूपमा दिएको छ ।


















